सिलिचोङः प्राकृतिक सम्पदा मास्नेलाई कारबाही किन नगर्ने ? (भिडियो सहित)



बुधबारे स्थीत स्वमीको रुख नष्ट गरिएको क्षेत्र । तस्विरः मोहन संसेर कुलुङको फेसबुकबाट साभार ।

ताम्कु । सिलिचोङ गाउँपालिकामा पनि अन्य ठाउँ तिर जस्तै सडक खनेर विकास भित्र्याईदै छ । अझ भनौ कत्तिपय ठाउँमा त सडक खन्नु नै विकास हो भन्ने बुझाई पाईयो ।

सडक खन्ने क्रममा केही महिना अघि सिलिचोङकै पर्यटकिय गन्तब्य मानिएको नागिटारको कुना पट्टी उत्खनन् गरियो, जस्ले नागिटारको सौदर्य तहसनहस मात्र भएन नागिटारको महत्व नै गुम्यो । अहिले आएर ऐतिहासिक क्षेत्र जहाँ फिर्के मेला समेत लाग्ने बुधबारे बजारको सयौं बर्ष पुरानो स्वमीको रुखहरु कटान गरि उजाड बनाईएको छ । स्थानीय संयोगान्त कुलुङका अनुसार त्यहाँ पाँच वटा स्वमीको रुख काटिएको छ, अहिले उजाड बनेको छ । बुधबारेको पहिचान नै स्वमीको रुखमुनी बसेर सिसुवा र संखुवाखोलाको माछाको वाचिपा खाने हो । यस बारे स्थानीय मात्र नभएर जिल्ला र जिल्ला बाहिरकाहरु पनि गुनगान गाउने यस ठाउँको स्वमीको रुख कटान गरिएको छ ।

अव प्रश्न आउछ, के त्यो रुख काट्नै पर्ने के बाध्यता आईलाग्यो ? रुख नकाटी संरचना निर्माण गर्नुको विकल्प नै थिएन ? अव त्यो बगरको टन्टलापुर घाममा यस अघिको जस्तो मेला लाग्न सक्छ ? प्राकृतिक पर्यावरण खलल पुग्ने गरि काम गर्ने अधिकार कस्ले दियो ? कोही कसैको ब्यक्तिगत लाभको लागि विनास गरिएको भन्ने हल्ला पनि छ । त्यो को हो जस्ले आफ्नो ब्यक्तिगत स्वार्थको लागि सार्वजनिक सम्पत्ती विनास गर्यो ? यी सवै कुराको छानविन सुष्म तरिकाले गर्नु पर्दछ ।

अब के गर्ने ? प्राकृतिक विनास गर्दै सडक खन्नु वा त्यस्तै काम मात्र देख्ने स्थानीय, उपभोक्ता समिति, जनप्रतिनिधी, कर्मचारी र त्यस्ता काममा संलग्न ब्यक्तिहरुलाई तत्काल कारबाहि गर्नुको विकल्प छैन । यी र यस्ता गलत कार्यहरुको पहिलो जिम्मेवारी सम्बन्धीत क्षेत्रका जनप्रतिनिधीहरुले लिनु पर्दछ । यस्ता कार्य गर्ने उपभोक्ता समितिका प्रत्येक पदाधीकारीहरु र सम्बन्धीत ब्यक्तिहरु कानुनी दायरामा ल्याउनै पर्छ । यस्ता विनास जन्य काम पास गराउने प्राविधिकहरु पनि कारबाहीमा पर्नै पर्छ । फेरी पनि यस्ता दोषीहरुलाई उन्मुक्ति दिने हो भने सार्वजनिक सम्पत्तीहरु एउटै नरहने निश्चित छ । सम्बन्धीत दोषीलाई कारबाहीको दायरामा ल्याउन स्थानीय राजनितिक दल, सामाजिक अभियान्ता तथा बुद्धिजीवीहरु अग्रसर हुनै पर्छ । दोषी जुनसुकै आस्थाको किन नहोस, सहिलाई सहि गलतलाई गलत भन्न नसके कुनै पनि पार्टीको पदमा रहिरहनुको औचित्य पनि हुन्न ।

सम्बन्धित समाचार