सिलिचोङः गर्भवती, जेष्ठ नागरिक र ‘क’ बर्गका अपाङ्गता भएकालाई एम्बुलेन्स निशुल्क




ताम्कु । हालैबाट एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सिलिचोङ गाउँपालिकाले ‘क’ बर्गका अपाङ्गता भएका, जेष्ठ नागरिक र गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा दिएको छ । गाउँपालिकाका नागरिकहरुलाई स्वास्थ्य केन्द्रसम्म पराउन निशुल्क एम्बुलेन्सको सेवा सुचारु गरेको हो ।

घरमै असुरक्षित प्रसुति गराउनेको संख्या घटाउने लक्ष्यका साथ गर्भावस्थाको परिक्षणमा समेत एम्बुलेन्समा गाउँपालिकाले निशुल्क सेवा दिएको छ । गर्भवती परिक्षणको लागि फोन गरेकै भरमा सम्बन्धीत ब्यक्तिको नजिकैको सडकमा पुगेर एम्बुलेन्सले स्वास्थ्य केन्द्रसम्म पुराउने गरेको छ । २४ सै घण्टा सञ्चालन गर्ने गरि सुरु गरिएको एम्बुलेन्स सेवाबाट आम नागरिकहरुको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङको भनाई छ । मुख्य गरि प्रसुती केन्द्रमा नै सुरक्षित प्रसुति गराउनको संख्या बढाउन गर्भवतीहरुलाई निशुल्क सेवा दिने ब्यवस्था गरिएको अध्यक्ष कुलुङले बताउनुभयो ।

एम्बुलेन्समा अन्य नागरिकहरुको लागि पनि न्युन शुल्क निर्धारण गरिएको छ । गाउँपालिकाका नागरिकहरुको लागि प्रति किलोमिटर एक सय पचास रुपैयाँ तोकिएको गाउँपालिकाले जनाएको छ । सर्वसाधारण नागरिकहरुलाई पनि एकोहोरो मात्र भाडा लिने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेलले बताउनुभयो । गाउँपालिकामा नै पहिलो पटक दिईएको एम्बुलेन्स सेवाबाट आम नागरिकहरुलाई पर्याप्त सेवा दिईएको पौडेलको दावी छ ।

सिलिचोङमा स्वास्थ्य सेवा चुस्त बनाईए पनि खाँदबारीसँग जोडिएको अरुण नदिमा पुल नबन्दा आवत जावतमा समस्या छ । पुल नबन्दा सिलिचोङका विरामीलाई एम्बुलेन्सबाट जिल्ला अस्पताल खाँदबारी पुराउन सकिएको छैन ।

सम्बन्धित समाचार