सिलिचोङमा राहत वितरण सुरु, मजदुरहरुलाई ३० किलो चामल




ताम्कु । कोरोना भाईरसको कारण सरकारले आव्हान गरेको लक डाउनको कारण खाद्यन्न अभावमा परेका नागरिकहरुलाई सिलिचोङ गाउँपालिकाले राहत वितरण गरेको छ । दैनिक ज्याला मजदुरी गरेर खाने तथा आर्थिक स्थीती नाजुक भएकाहरुलाई गाउँपालिकाले बुधबारबाट राहत वितरण गर्न सुरु गरेको हो ।

पहिलो दिन बुधबार वडा नम्बर ३ ताम्कु र वडा नम्बर ५ याफुमा खाद्यन्न वितरण गरिएको छ । वडा नम्बर ३ ताम्कुमा एक सय ३ परिवारलाई चामल, तेल र सावुन वितरण गरिएको वडा अध्यक्ष प्रतापसिं तामाङले जानकारी दिनुभयो । त्यस्तै, वडा नम्बर ५ याफुमा पनि चामल, दाल, तेल र सावुन वितरण गरिएको वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो ।

गाउँ कार्यपालिकाको बैठकले प्रति परिवार दश किलोग्राम चामल प्रदान गर्ने निर्णय गरेपनि माथिल्लो निकायबाट ३० किलो ग्रामसम्म चामल वितरण गर्न सक्ने कार्यविधि पठाएपछि ३० किलोग्राम नै चामल दिईएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । अन्य वडाहरुमा पनि तत्काल राहत वितरण गरिने अध्यक्ष कुलुङको भनाई छ । वडा नम्बर ३ ताम्कुमा एक सय तीन जनालाई राहत वितरण गरिएको छ भने वडा नम्बर ५ मा १८ जनालाई वितरण गरिएको छ । टोलटोलबाट टोल विकास समितिका अध्यक्षहरुको सहयोगमा वडा अध्यक्षले सिफारिस गरेकाहरुलाई राहत दिईएको गाउँपालिका अध्यक्ष कुलुङले बताउनुभयो ।

उहाँका अनुसार विहिबार वडा नम्बर ४ मांतेवामा राहत वितरण गरिने छ । त्यस्तै, सुक्रबार र सनिबार वडा नम्बर एक सिसुवाखोला र वडा नम्बर २ बालामा वितरण गरिने छ ।

सम्बन्धित समाचार