चिचिला गाउँपालिकाले बाँड्यो खाद्यन्न राहत




खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिकाले सबै वडाहरुमा रहेका अति विपन्न र मजदुरहरुलाई राहत वितरण गरेको छ । सरकारले आह्वान गरेको तेस्रो चरणको लकडाउनको कारण अतिविपन्न र मजदुर वर्गहरुको दैनिकीमा समस्या आएपछि स्थानीय सरकारले राहत वितरण गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणका लागि सरकारले सबैतिर लकडाउन गरेको छ । लक डाउनका कारण सबैभन्दा बढि श्रमिक, विपन्न, गरिब र मजदुरहरुलाई समस्या भएको हो । मजदुरहरुलाई समस्या भएपछि २ सय ८२ घरपरिवारलाई राहत बाँडिएको चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पाले जानकारी दिनुभयो । मजदुर वर्गहरुलाई केन्द्रित गरेर उनीहरुको दैनिकी सहज बनाउनका लागि राहत सहयोग गरेको चिचिला वडा नं. १ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनुभयो । उहाँको अनुसार, वडा नं. १ मा ७१ घर, वडा नं. २ मा ३५ घर, वडा नं. ३ मा २५ घर, वडा नं. ४ मा ७० घर र वडा नं. ५ मा ८१ घर परिवार गरिबहरुलाई प्रति परिवार ३० केजी चामाल, १ केजी नुन र १ लिटर तेल उपलब्ध गराएको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

यसै विच ५ वटा वडाहरु रहेको चिचिला गाउँपालिकाले खाँदबारीबाट पालिका भित्रिने मुख्य छयाङकुटी डाँडामा हेल्पडेक्स स्थापना गरेको छ । त्यसैगरि स्वास्थ्यकर्मीहरु परिचालन र तैनाथ राखेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार