पूर्व राज्यमन्त्री खड्काद्वारा गृहजिल्लामा राहत सामग्री हस्तान्तरण



संखुवासभा । नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री दिपक खड्काले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले गृह जिल्ला संखुवासभामा राहत उपलब्ध गराउनुभएको छ।

आइतबार संखुवासभाको चैनपुरमा आयोजित एक कार्यक्रमकाबीच उहाँले संखुवासभाका जिल्ला समन्वय प्रमुख सुमन शाक्यलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो।

निजी खर्चमा काठमाण्डौबाट हेलिकप्टर मार्फत राहत सामग्री संखुवासभा पुर्याउने इच्छा भएपनि उडान अनुमति नपाएकाले आफ्नै निजी गाडीमा उहाँले राहतका सामग्री जिल्ला पुर्याउनुभएको थियो। राहत सामग्री हस्तान्तरण गर्दै उहाँले बिपत्को समयमा राजनीतिक स्वार्थभन्दा माथी उठेर सबैले सकेको सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।

नेकपाका जिल्ला अध्यक्ष तथा सर्वदलीय बिपत् ब्यवस्थापन समितिका अध्यक्ष हेमराज घिमिरे, काँग्रेस जिल्ला सभापति दिपनकुमार श्रेष्ठ लगायतको उपस्थीतिमा पुर्वराज्यमन्त्री खड्काले ६५ थान हस्पीटल पीपीई, १ सय २३ थान साधारण पीपीई, ६० लिटर सेनिटाइजर, ६ हजार थान सर्जिकल मास्क, १ हजार २ सय थान ग्लोब्स तथा नेपाली जनसम्पर्क समिति जर्मनीको तर्फबाट उपलब्ध गराइएको ८ सेट पीपीई, लगायतका सामग्री उपलब्ध गराउनुभएको हो।

उहाँले यस अघि पनि नेपाल सरकारको कोरोना कोषमा रु ५ लाख सहयोग गरिसक्नुभएको छ भने जिल्लाका विभिन्न स्थानमा हात धुन सहज होस् भन्ने उद्देश्यले २ दर्जन बढी हिलट्यांक र सावुनको ब्यवस्था गरिदिनुभएको थियो ।

राहत सामग्री बुझ्दै जिल्ला समन्वय प्रमुख सुमन शाक्यले राहत सामग्री उपलब्ध गराएकोमा धन्यवाद प्रकट गर्दै यो महामारी रोक्न सबै पक्ष एक जुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।

सम्बन्धित समाचार