संखुवासभा प्रवेश गर्ने दुवै नाका ठप्प पारिने




खाँदबारी । कोरोना भाईरसको संक्रमण बढिरहेको अवस्थामा स.खुवासभा प्रवेश गर्ने दुवै नाका पुर्ण रुपमा बन्द गरिने भएको छ । जिल्ला समन्वय समितिको संजोजनमा प्रदेश सभा सदस्यहरु, जिल्लाका राजनितिक दलका प्रतिनिधी र दश वटै स्थानीय तहका प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेका हुन् ।

मंगलबार बसेको बैठकले जिल्ला भित्रिने मुख्य नाकाहरु टुटेदेउराली र केँवा खोलामा पुर्ण रुपमा नाका बन्द गर्ने निर्णय गरेको हो । उक्त नाकाहरुबाट कोही कसैलाई पनि प्रवेश गर्न नदिन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको हो । त्यस्तै कोरोना रोकथामको लागि जिल्ला समन्वय कोषमा रहेको रकम खर्च गर्ने समेत निर्णय गरेको हो । हालसम्म भएको खर्च बाहेक बाँकी रहेको रकम कोरोना रोकथामको लागि खर्च गर्ने निर्णय गरिएको छ । बैठकमा प्रदेश सभा सदस्यहरु सामाजिक विकास समितिका सभापति सरिता खड्का, पुर्णप्रसाद राई, तुलसी न्यौपाने र पदमकुमारी गुरुङको उपस्थिती रहेको थियो ।

बैठकमा दश वटै स्थानीय तहका प्रमुखहरुले आआफ्नो स्थानीय तहमा कोरोना विरुद्ध गरिएको र गरिने कार्यहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । स्थानीय तहहरुले गरेको कार्यहरुको प्रदेश सांसदहरुले प्रसंसा गरेका छन् । केही स्थानीय तहहरुले राहत वितरण गरिसकेको केहीले बाँड्न बाँकी रहेको स्थानीय तहका प्रमुखहरुले प्रतिवेदन मार्फत जानकारी गराएका थिए । लक डाउन अझै लम्बिन सक्ने भएकोले राहत वितरण हतारमा गरिएको समेत प्रदेश सांसदहरुले धारणा राखेका छन् । राहत वितरणको क्रममा उपयुक्त परिवार छान्ने कार्यमा बिवाद आएको सुनिएकोले सहि ब्यक्ति छान्न समेत सुझाव दिएका छन् ।

बैठकमा स्थानीय तह र राजनितिक दलसँग सुरक्षा निकायको तालमेल नमिलेको बताईएको थियो । जिल्लाको सुरक्षा निकायले कोरोना रोकथामको लागि समन्वय नगरेको स्थानीय तहका प्रमुख र राजनितिक दलका प्रतिनिधीहरुले बताएका छन् । यस बारे प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्ने सांसदहरुले बताएका छन् ।

सम्बन्धित समाचार