खाँदबारीः ‘भिजिट नेपाल २०२०’ को २० लाख बजेट कोरोना रोकथाममा खर्च गर्ने




खाँदबारी । खाँदबारी नगरपालिकाले भिजिट नेपाल २०२० प्रवद्र्धनको शिर्षकमा विनियोजन गरेको बजेट प्रकोप ब्यवस्थापन कोषमा रकमान्तर गर्ने भएको छ । आज (सोमबार) बसेको नगर कार्यपालिकाको बैठकले उक्त रकम कोरोना भाईरस रोकथामको काममा प्रयोग गर्ने गरि प्रकोप ब्यवस्थापन कोषमा रकमान्तर गर्ने निर्णय गरेको हो ।

सरकारले भिजिट नेपाल अभियान स्थगित गरेको र कोरोना भाईरसको प्रकोप रोकथामको लागि बजेट आवश्यक पर्ने भएको हुँदा उक्त बजेट रकमान्तर गरिएको नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिनुभयो । उक्त बजेटले राहत वितरणसँगै प्रकोप ब्यवस्थापनको काम गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको ९३ औं बैठकले यस पटक सामाजिक सुरक्षा भत्ता नगद नै वितरण गर्ने निर्णय गरेको छ । यस अघि खाँदबारी स्थित राष्ट्रिय बाणिज्य बैंक मार्फत भत्ता वितरण गरिएकोमा कोरोना भाईरसको कारण बैंकमा वितरण गर्न नसक्ने भएपछि नगद नै वितरण गर्ने निर्णय गरेको हो । भत्ता पाउने लाभग्राहीहरुले सम्बन्धीत वडाका वडा सचिव मार्फत यस पटकको भत्ता पाउने वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष श्याम प्रसाद निरौलाले जानकारी दिनुभयो ।

बैठकले बैशाख ११ गते संखुवासभा उद्योग बाणिज्य संघ र च्याबर अफ कमर्सका पदाधीकारीहरुसँग खाँदबारीमा रहेको तरकारी तथा फलफुल बजार ब्यवस्थापन बारे छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै, कोरोना भाईरसको कारण राहत बाड्ने क्रममा राहत वितरण कार्यविधि २०७७ अनुसारको सम्पुर्ण प्रकृया पुरा भएपछि मात्र राहत बाँड्ने निर्णय गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार