नेपालमा काेराेना संक्रमितकाे संख्या ४२ पुग्याे



2020-04-21-12864

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरको भुल्केस्थित मस्जिद क्षेत्रका थप ११ जनामा आज कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

यसअघि कुल ३१ जनामा संक्रमण रहेको अाज ११ जनाको थप पुष्टि भएसँगै कुल संख्या ४२ पुगेको हो । यसमा उदयपुरका मात्र २३ जनामा संक्रमण देखिएको छ ।

केन्द्रिय प्रयोगशालामा उदयपुरबाट ल्याइएको २६० जनाका स्वाब मध्ये आज साँझसम्म २४० जनाको परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको र २० जनाको स्वाब परीक्षण भईरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

उदयपुरको भुल्केस्थित मस्जिदमा भारतबाट आएका १२ भारतीय नागरिकमा वैशाख ५ गते संक्रमण पुष्टि भएको र त्यसको भोलिपल्ट सो मस्जिदमा रहेका एक नेपालीको संक्रमण पुष्टि भएर १३ जना पुगेकाे थियो ।

सो क्षेत्रमा एकै पटक धेरै संक्रमित पाइए पछि शनिबर कोशी अस्पतालबाट गएको चिकित्सक टोलीले ६९ जनाका स्वाब संकलन गरी परीक्षण गर्दा आठ जनामा संक्रमण पाइएको थियो ।

साथै, ती आठ जनाको संक्रमण पुनः पुष्टि गर्न सो नमुना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पुनः परीक्षण गर्दा संक्रमण भएको पुष्टि भएको थियो ।

यसैगरी, उदयपुरको सो मस्जिद क्षेत्रबाट नेपाली सेनाले शनिबर र आइतबार स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं ल्याएको थियो ।

सम्बन्धित समाचार