संखुवासभाका पत्रकारलाई पूर्वराज्यमन्त्रीले पठाए मास्क र स्यानिटाइजर



खाँदबारी । कोरोना भाइरस (कोभिड– १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वखानेपानी राज्यमन्त्री दीपक खड्काले संखुवासभाका पत्रकारलाई मास्क र स्यानिटाइजर उपलब्ध गराएका छन् ।

खड्काले पठाएको मास्क र स्यानिटाइजर बिहीबार नेपाली कांग्रेस संखुवासभाका सभापति दीपनकुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीलाई हस्तान्तरण गरे । उनले जिल्लाका आठ रेडियो एफएम, अनलाइन र पत्रपत्रिकामा कार्यरत पत्रकार र महासंघका पदाधिकारीहरूलाई उक्त सामग्री उपलब्ध गराएका हुन् ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमित नभेटिए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पत्रकारलाई मास्क र स्यानिटाइजर प्रयोग गरेर सुरक्षित रूपमा समाचार संकलन तथा सूचना सम्प्रेषणमा सहयोग पुग्ने अध्यक्ष गिरीले बताए । जिल्लामा विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत ५० जना पत्रकार छन् ।

पूर्वराज्यमन्त्री खड्काले यसअघि पनि जिल्लाका १० स्थानीय तहलाई पिपिई सेट, ज्वरो नाप्ने थर्मल स्क्यानरलगायत उपलब्ध गराएका थिए । त्यस्तै, जिल्लाका १० वटै स्थानीय तहमा पाँच सय लिटर क्षमताका दुई दर्जनभन्दा बढी पानीट्यांकी पनि उपलब्ध गराइसकेका छन् । उनले उपलब्ध गराएको पानीट्यांकी स्थानीय तहहरूले पैदलयात्रीलाई हात धुन सहज हुने गरी साबुनसहित विभिन्न चोकमा राखेका छन् ।

 

सम्बन्धित समाचार