हिमाली पहुँच केन्द्रले बाँड्यो सय परिवारलाई राहत




खाँदबारी । हिमाली पहुँच केन्द्रले संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा मजदुरी गरेर जीविका चलाउने सय विपन्न परिवारहरुलाई खाद्यान्न राहत बाँडिएको छ । आज खाँदबारी १ टुँडिखेलमा एक कार्यक्रम बिच पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र जिल्ला समन्वय समितिका सभापति सुमन शाक्यले संयुक्त रुपमा खाद्यान्न सहयोग वितरण गरेको हो ।

खाद्यन्न राहतको रुपमा प्रतिपरिवार २५ किलोग्राम चामल, १ किलोग्राम नुन, १२ किलोग्राम चिनी, १ किलोग्राम दाल, १ लिटर तेल र १ किलोग्राम न्यूटेला वितरण गरेको हो । केन्द्रले खाँदबारी नगरपालिका वडा नं. १ का बासिन्दा सहित अन्य जिल्लाका विभिन्न ठाउँहरुबाट खाँदबारी आएर दैनिक मजदुरी गर्दै आएकाहरुलाई राहत वितरण गरेको हो । राहत वितरणको तथ्याङ्क संकलन गर्दा यसअघि नेपाल सरकारले बाँडेको राहत पाउनबाट बञ्चित भएका परिवार र लकडाउनका कारण मजदुरी गर्न नपाउँदा बिहान बेलुकीको छाक टार्न समस्या भएकाहरुलाई राहत बाँडेको केन्द्रका फुर्वाङ्जुक भोटे जानकारी दिनुभयो ।

यस अगाडि हिमाली पहुँच केन्द्रले संखुवासभाबाट काठमाडौ गएर अस्थायी रुपमा मजदुरी गरेर बस्ने १९ परिवारहरुलाई खाद्यान्न सहयोग गरेको थियो । अबको केही समयपछि खाँदबारी नगरपालिका भित्रका वाड नं. ३ र ७ मा समेत खाद्यान्न सहयोग गर्ने तयारी गरिएको संस्थाले जनाएको छ । नेपाल सरकारले एकद्धार प्रणालीबाट मात्रै राहत बाँड्ने निर्देशन भए अनुसार जिल्ला समन्वय समिति र स्थानीय सरकारसंग समन्वय गरेर राहत वितरण गरिएको केन्द्रका अध्यक्ष भोटे बताउनुभयो ।

सम्बन्धित समाचार