सिलिचोङः कोरोना रोकथाममा खट्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई छुट्टै भत्ताको दिने



ताम्कु । सिलिचोङ गाउँपालिकाले कोरोना भाईरस रोकथामका लागि खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई छुट्टै भत्ता दिने भएको छ । आईतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथामको लागि विभिन्न ठाउँमा खटिएका कर्मचारीहरुलाई भत्ता दिने निर्णय गरेको हो ।

गाउँपालिकाले राखेको हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीहरुलाई मासिक १० हजार रुपैयाँ थप रकम दिने निर्णय गरेको हो । स्वास्थ्यकर्मीले यो सेवा पाउनको लागि कम्तिमा तोकिएको ठाउँमा १५ दिन काम गरेको हुनु पर्ने छ । त्यस्तै, स्वास्थ्य संस्थामा खटिने मेडिकल अधिकृतलाई सात हजार पाँच सय दिने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा कार्यरत स्टाफ नर्स, अनमी र अहेबलाई जनहि पाँच हजार रुपैयाँ दिने भएको छ ।

त्यस्तै स्थास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगीहरुलाई प्रतिब्यक्ति तीन हजार रुपैयाँ दिने निर्णय गरिएको हो । यसै गरि हेल्ट डेस्कमा खटिएका सुरक्षाकर्मीहरुलाई मासिक १५ हजार रुपैयाँ प्रदान गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको छ । एक महिना भन्दा कम काम गर्ने प्रहरीहरुलाई प्रतिदिन पाँच सय रुपैयाँको दरले भत्ता उपलब्ध गरिने निर्णय भएको गाउँपालिकाका प्रबक्ता नरभुपाल मेवाहाङले जानकारी दिनुभयो ।

सिलिचोङ गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सिलिचोङ भित्रिने चार वटा नाकाहरुमा सुरक्षाकर्मी सहित हेल्थ डेस्क राखिएको छ । तम्बे बेँशी, संखुवा दोभान, मागुवा र बुधबारेमा हेल्थ डेस्क राखिएको छ । गाउँपालिकामा कोरोना रोकथामको लागि एक चिकित्सक सहित ३७ जना स्वास्थ्यकर्मीहरु सक्रिय छन् ।

सम्बन्धित समाचार