नेकपा सिलिचोङद्वारा प्रेस विज्ञप्ती जारी, सस्तो लोकप्रियताको लागि काठ्माण्डौबाट गाउँ ल्याईएको आरोप



ताम्कु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिलिचोङ गाउँ कमिटिले प्रेस विज्ञप्ती जारी गर्दै केही ब्यक्तिले सस्तो लोकप्रियताको लागि काठ्माण्डौबाट गाउँ पठाएको आरोप लगाएको छ । सिलिचोङ गाउँ कमिटी अध्यक्ष हस्तमान राईले हस्ताक्षर गर्नुभएको विज्ञप्ती मार्फत उक्त कार्य प्रति खेद प्रकट गरिएको हो ।

सरकारले आव्हान गरेको लड डाउनको अवज्ञा गर्दै बैशाख १४ गते काठ्माण्डौका केहि ब्यक्तिले सस्तो लोकप्रियताको लागि काठ्माण्डौमा रहेका केही नागरिकहरुलाई गाउँ पठाएर त्रास फैलाईएको विज्ञप्तिमा भनिएको छ । लक डाउनको बेवास्ता गर्दै काठ्माण्डौबाट गाउँ प्रवेश गराएर सिलिचोङ गाउँपालिकाका जनताहरुलाई आतंकित बनाईएको बताईएको छ । विज्ञप्तीमा भनिएको छ, ‘उक्त गतिविधी प्रति हाम्रो गौरवशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिलिचोङ गाउँ कमिटि खेद प्रकट गर्दछ ।’

पछिल्लो समयमा सामाजिक सञ्जालमा आफ्ना नेता र जनप्रतिनिधीहरुको चरित्र हत्या गरिएको भन्दै त्यस्ता कार्य प्रति आपत्ति जनाईएको छ । पुनः त्यस्तो कृयाकलाप दोहोरिए त्यसको प्रतिकारमा उत्रने समेत विज्ञप्तीमा भनिएको छ ।

सिलिचोङमा आरोप प्रत्यारोप

कोरोना भाईरसको कारण सरकारले लक डाउनको आव्हान गरेपछि जिल्लाको विभिन्न स्थानमा विपदमा परेकाहरुलाई गाउँ ल्याउने विषयमा दुई मत देखिएको छ । नेपाली कांग्रेस आधिकारीक रुपमा अहिलेसम्म बोलेको नभएपनि पालिका स्तरका केहि नेताहरुले विभिन्न ठाउँमा समस्यामा परेकाहरुलाई सुरक्षित तवरबाट गाउँ ल्याई क्वारेन्टाईनमा राख्नु पर्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।

विभिन्न कामले गाउँ बाहिर गएका तर लक डाउनको कारण फर्कन नसकि उतै रोखिएकाहरुलाई तोकिएको मापडण्ड अनुसार गाउँ ल्याएर क्वारेन्टाईनमा राखि कोरोना परिक्षण गरेर घर पठाउन उचित रहेको नेताहरुले दावी गर्दै आएका छन् । सुरक्षित तवरबाट गाउँ ल्याएर क्वारेन्टाईनमा राखे कुनै चिन्ता लिनु नपर्ने कांग्रेस पाटीका नेताहरुले तर्क दिदै आएका छन् । फर्काईएकाहरुमा कोरोना नभएको पुष्टि भएपछि घर गएर खेतबारीको काम समेत भ्याउने भएकोले गाउँ ल्याउन उचित रहेको उनीहरुको दावी छ ।

तर नेकपा सिलिचोङका नेताहरुले गाउँ ल्याउन उचित नभएको तर्क दिदै आएका छन् । कतै संक्रमित ब्यक्ति गाउँ आए गाउँ भरि कोरोना फैलन सक्ने भएकोले गाउँ ल्याउने उत्तम विकल्प नभएको दावी गर्दै आएका छन् । विभिन्न ठाउँमा रोकिएकाहरुलाई गाउँ ल्याउनुको विकल्प खोज्नु पर्ने नेकपाका नेताहरुले बताउदै आएका छन् ।

अन्यत्रबाट गाउँ फर्किएकाहरुलाई राख्नको लागि प्रत्येक वडामा क्वारेन्टाईनको निर्माण गर्ने भन्दै गाउँपालिकाले सामग्रीहरु समेत खरिद गरेको छ । उक्त सामग्रीहरु प्रत्येक वडामा पुराईसकिएको सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गत बैशाख १४ गते काठ्माण्डौबाट ल्याईएको १६ जनालाई वडा नम्बर ३ ताम्कु र ४ मांतेवाको क्वारेन्टाईनमा राखिएको छ । सिलिचोङ १ का २, वडा नम्बर ५ का ४ र वडा नम्बर ३ ताम्कुका ६ गरि ताम्कु क्वारेन्टाईनमा १२ जना राखिएको छ भने वडा नम्बर ४ का ४ जनालाई मांतेवा क्वारेन्टाईनमा राखिएको छ ।

सम्बन्धित समाचार