सिलिचोङ कांग्रेसद्वारा विज्ञप्ती जारी, नेकपा सिलिचोङले न्युनतम् मानवीय समवेदना समेत गुमायो



ताम्कु । लक डाउनको क्रममा विभिन्न स्थानमा रोकिएकाहरुको ब्यवस्थापन लगायतको विषयमा नेपाल कम्युनिष्ट पार्टी सिलिचोङ गाउँ कमिटीले एक हप्ता अघि प्रेस विज्ञप्ती जारी गरेको थियो । उक्त विज्ञप्तीबाट गाउँपालिका बाहिर रहेकाहरुलाई गाउँ ल्याउने कार्य सस्तो लोकप्रियताको लागि भन्ने आरोप लगाईएको थियो ।

नेपाली कांग्रेस सिलिचोङ गाउँ कार्य समितिले पनि शुक्रबार विज्ञप्ती जारी गरेको छ । पार्टी सभापति भुपालराज मेवाहाङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा नेपाल कम्युनिष्ट पार्टी सिलिचोङ गाउँ कमिटीलाई लक्षित गर्दै न्युनतम मानवीय समवेदना समेत गुमाएको आरोप लगाईएको छ । जिल्ला बाहिर अत्यन्तै समस्यामा परेकाहरुलाई उचित ब्यवस्थापनमा सहयोग गर्नुको साटो विभिन्न आरोप प्रत्यारोपमा उत्रेर योगदान दिनेहरुलाई हतोत्साहित गरेको भनिएको छ । देशको विभिन्न स्थानमा रहेकाहरुलाई सुरक्षित विधि अपनाएर गाउँ फकाउने काममा नेकपाले अवरोध गरेपछि त्यो सम्भव नभएको विज्ञप्तीमा भनिएको छ ।

अहिलेको विषम परिस्थीतिमा राजनितिक स्वार्थ भन्दा माथी उठेर सवैको उद्धार गर्नु पर्नेमा त्यस्तो कार्यको विरोध गरेर गाउँपालिका र सहयोग गर्नेहरुलाई हतोत्साहित बनाएको विज्ञप्तीमा भनिएको छ । यस्तो कार्यले नेकपा सिलिचोङ आफ्नो क्षेत्रका नागरिकहरु प्रति उत्तरदायी नभएको विज्ञप्तीमा भनिएको छ । ‘यो परिस्थीतमा उद्धारताको निति अवलम्बन गर्नु पर्ने समयमा जिम्मेवार राजनितिक दलले आत्मकेन्द्रीत, मनोगत, संकिर्णतावाद, शास्त्रीय चिन्तन लगायतका अलोकतान्त्रिक ब्यवहार देखाउनुले आम नागरिकहरु प्रति कति उत्तरदायी छन् भन्ने प्रष्ट पार्दछ’, विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा काठ्माण्डौ लगायतका ठाउँहरुबाट ल्याईएकाहरु सुरक्षा विधि अपनाएर सिधै क्वारेन्टाईनमा जाने भएकोले त्रसित हुनु पर्ने कुनै कारण नभएको भनिएको छ । तर गाउँपालिका र पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले ‘कोरोना भित्राएको’ भनेर गलत प्रचार गरेको आरोप लगाईएको छ । पार्टीको यस्तो निर्देशन भएकै कारण गाउँपालिकाले उचित कदम चाल्न नसकेको समेत भनिएको छ ।

विज्ञप्ती मार्फत गाउँपालिका बाहिर रहेकाहरुको उचित पहिचान गरि जहाँको त्यही राहतको ब्यवस्था गर्न गाउँपालिका लगायतका निकायहरुसँग माग गरेको छ । विभिन्न जिल्लामा रहेकाहरुको बिवरण संकलन गरि प्राथमिकिकरण गरेर राहत बाँड्न माग गरेको छ । उक्त कार्यको लागि सवै प्रकारको सहयोग गर्न सिलिचोङ कांग्रेस तयार रहेको विज्ञप्तीमा भनिएको छ । यस्तो कार्यको लागि पार्टीगत स्वार्थ भन्दा माथी उठेर सवै एक जुट हुन समेत आव्हान गरिएको छ ।

सम्बन्धित समाचार