कार्यबाहक वडा अध्यक्ष निरौलाको आक्रमणको विरोधमा तीन संस्थाहरुद्वारा प्रेस विज्ञप्ती जारी



खाँदबारी । खाँदबारी नगरपालिका वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष श्याम निरौलालाई गरिएको आक्रमणको विरोधमा तीन संस्थाहरुद्वारा प्रेस विज्ञप्ती जारी गरिएको छ । दोषीलाई कारबाहिको माग गर्दै नेपाली कांग्रेस संखुवासभा, पत्रकार महासंघ संखुवासभा र नेपाल प्रेस युनियन संखुवासभाले छुट्टाटुट्टै प्रेस विज्ञप्ती जारी गरेको हो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति समेत रहनुभएको निरौलाको ज्यान मार्ने उद्देश्यका साथ सुनियोजित तरिकारले आक्रमण गरिएको भन्दै दोषीलाई तत्काल कारवाही गर्न नेपाली कांग्रेस जिल्ला कार्य समितिले माग गरेको छ । पार्टी सभापति दिपनकुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा घाईते निरौलाको स्वास्थ्य लाभको कामना गरिएको छ ।

त्यस्तै, नेपाल पत्रकार महासंघ संखुवासभाको पुर्व सभापति समेत रहनुभएका निरौलाको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ संखुवासभाले पनि विज्ञप्ती जारि गरेको छ । वडा र जनताको सेवामा तल्लिन रहेको बेला साङ्घातिक आक्रमण हुनु अत्यन्तै खेदपुर्ण रहेको विज्ञप्तीमा भनिएको छ ।

घटनाको विरोध गर्दै नेपाल प्रेस युनियन संखुवासभाले पनि विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य अनुसन्धान गरि दोषीलाई तत्काल कारवाही गर्न माग गरेको छ । युनियन सभापति कृष्णराज शाक्यको हस्ताक्षरमा जारी गरिएको विज्ञप्ती मार्फत जनप्रतिनिधी माथी प्रहार हुनु लोकतान्त्रीक प्रणाली र मुल्य मान्यतामा नै प्रहार गरिएको भनिएको छ । प्रेस युनियन संखुवासभाको पुर्व सभापति समेत रहनुभएका निरौलाको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

निरौलाको हिजो साँझ वडा कार्यालय नजिकै खुकुरी प्रहार गरिएको थियो । टाउकोमा चोट लागेको निरौलाको खाँदबारी अस्पतालमा उपचार भईरहेको छ । खुकुरी प्रहार गर्ने स्थानीय सुरेस तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

सम्बन्धित समाचार