कृषक भन्छन्, पहुँचको भरमा मात्र पाईने रहेछ सरकारी अनुदान (भिडियो सहित)




खाँदबारी । ८ बर्षसम्म कृषी प्राविधिकको रुपमा प्रोजेक्टमा काम गरिसकेको गंगाराम कुलुङले एक बर्ष अघिदेखि आफ्नै गृह जिल्ला संखुवासभा फर्केर आफै कृषी कर्म सुरु गर्नुभयो । सिलिचोङ गाउँपालिका वडा नम्बर ४ मांतेवा स्थायी घर भएका कुलुङले खाँदबारी नगरपालिका ४ पांमामा थोरै आफ्नो र केही जग्गा भाडामा लिएर १० रोपनी क्षेत्रफलमा टमाटर खेती सुरु गर्नुभएको हो ।

सुरुमा आफुले पाँच लाख रुपैया लगानी गरेर उत्पादन सुरु गरेपछि थप खेती विस्तारको लागि सरकारी कार्यालय र वित्तिय संस्थाहरुमा ऋणको माग गर्दा कतैबाट नपाएको उहाँको गुनासो छ । चालु आर्थिक बर्षमा विभिन्न कृषी कार्यक्रमहरुमा प्रस्तावना पेश गरेपनि आफ्नो फर्म छनौटमा नपरेको उहाँले दुखेसो पोख्नुभयो । आफुसँग दक्ष प्राविधिकहरु जेटिए र आईएसई एजी समेत रहेको र पुर्ण रुपमा अर्गानिक उत्पादन हुँदै आएको बताउदै यस्ता ब्यावसायीलाई प्रोत्साहन भएको उहाँको गुनासो छ । हालै कृषी ज्ञान केन्द्र संखुवासभाले वितरण गरेको अनुदानलाई उदृढ गर्दै सरकारी अनुदान पहुँचको भरमा वितरण भएको आफुलाई महसुस भएको बताउनुभयो । यस पटक बाँडिएको अनुदान आफुहरुको भन्दा अति न्युन ब्यवस्थापन भएकाहरुलाई वितरण गरिएको समेत कुलुङले बताउनुभयो ।

कृषीमा लगानीको लागि बैंकहरुमा जाँदा अनिबार्य धितो राख्नु पर्ने प्रावधानले ऋण लिन नसकेको उहाँको भनाई छ । कृषकले विना धितो समेत कृषी कर्जा लिन सक्ने, शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण लिन सकिने जस्ता समाचार सुनेर उत्साहित हुनु ब्यर्थ रहेको उहाँले अनुभव बताउनुभयो । ‘हामी मांतेवाको मान्छे त्यहाँको जग्गा बैंकले धितो मान्दैन, खाँदबारी बजारमा जग्गा छैन, हामीले के धितो राख्ने ?’, उहाँलले भन्नुभयो । दक्षता भएर पनि लगानी जुटाउन नसक्दा कृषीबाट समृद्धी ल्याउने सरकारी नारा ब्यावहारिक नभएको कुलुङको तर्क छ ।

कृषी प्राविधिक कुलुङले उनका दाजु बलबहादुर कुलुङसँग मिलेर टमाटर खेती सुरु गरेका हुन् ।

 

सम्बन्धित समाचार