कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुग्यो



काठ्माण्डौ । दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले बताउनुभयो । मृतकको कोरोना परीक्षणका लागि स्वाब १५ गते नै लगिएको थियो ।

दुल्लू नगरपालिका दैलेखका नगर प्रमुख घनश्याम भण्डारीले ३५ वर्षीय ती युवकको कोरोना पुष्टि भएको र कोरोना सङ्क्रमणका कारणले मृत्यु भएका युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको जानकारी दिनुभयो । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । मृत्यु भएका व्यक्ति दुल्लु नगरपालिका वडा न ११ निवासी हुन् ।

सम्बन्धित समाचार