सिलिचोङ गाउँपालिकाले हेल्थ डेस्क हटायो, गाउँ आउनेले पालिकामा सम्पर्क गरेर मात्र प्रवेश गर्नु पर्ने




ताम्कु । कोरोना संक्रमितहरुको पहिचान तथा रोकथामको लागि सिलिचोङ गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा राखिएको हेल्थ डेस्क हटाएको छ । गाउँ कार्यपालिकाको ६२ औं बैठकले सवै नाकाहरु हटाई कर्मचारीहरु फिर्ता ल्याउने निर्णय गरेको हो ।

सरकारले लकडाउनलाई खुकुलो बनाउन थालेको र छिमेकी स्थानीय तहहरुले समेत रोकथामलाई खुकुलो बनाउन थालेपछि गाउँपालिकाले पनि हेल्थ डेस्क हटाएको हो । हेल्थ डेस्क हटाएसँगै त्यहाँ खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु आफ्नो कार्य क्षेत्रमा फर्किएका छन् ।

नाकामा राखिएका कर्मचारीहरु फर्किए पनि अन्यत्रबाट गाउँ फर्किएकाहरु अनिवार्य गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरेर मात्र प्रवेश गराउने समेत निर्णय गरिएको गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

सिलिचोङ प्रवेश मार्गको ६ वटा नाकाहरुमा हेल्थ डेस्क राखिएको थियो । हेल्थ डेस्कमा पालैपालो गरि ३४ जना स्वास्थ्यकर्मी र ११ जना सुरक्षाकर्मीहरु खटाईएको थियो । यसरी खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ताको ब्यवस्था गरिएको थियो ।

सम्बन्धित समाचार