अत्याधिक बर्षा भएपछि रुद्राक्षको फुल नष्ट, ब्यावसायीहरु चिन्तित



सङ्खुवासभामा पानी पर्नु अघिको रुद्राक्षको फुल । तस्विरः ध्यान कुलुङ

सङ्खुवासभा । कोरोना भाईरसको कारण अस्तब्यस्त भएको रुद्राक्ष ब्यावसाय अत्याधिक बर्षाको कारण थप धारासायी बनेको छ । अत्याधिक बर्षा भएपछि ढकमक्क फुलेको रुद्राक्षको फुल बोटमै कुहिएर नष्ट भएपछि ब्यावसाय नै संकटमा परेको हो ।

रुद्राक्षको फुल फुल्ने यो समयमा लगातार बर्षा भएपछि करिव ७५ प्रतिशत फुल बोटबाट झरिसकेको रुद्राक्ष ब्यावसायी संघ सङ्खुवासभाका अध्यक्ष चक्र विसुङ्केको भनाई छ । घामपानीको कारण अधिकांश रुद्राक्षको बोट फुल बिहिन बनेको अध्यक्ष विसुङ्केले बताउनुभयो । ‘केहि दिन पानी परेर एक दिन घाम लागेपछि पुरै फुल कुहिएर झर्छ’, अध्यक्ष विसुङ्केले भन्नुभयो । अझै घामपानी लगातार भईरहेकोले बाँकी रहेको करिव २५ प्रतिशत फुल पनि झर्ने खतरा रहेको समेत विसुङ्केको भनाई छ ।

रुद्राक्षको फुल बोटमै कुहिएर झर्न थालेपछि करोडौको लगानी गरेका ब्यावसायीहरु चिन्तित बनेका छन् । एकै बोटलाई करोड रुपैयाँसम्म लगानी गरेर ठेक्का हालेका ब्यावसायीहरुको लगानी डुब्ने खतरा बढेपछि ब्यावसायीहरु चिन्तित बनेका हुन् । बोटमा फुल नै नरहेपछि फलको आसा सकिएको रुद्राक्ष ब्यावसायी अर्जुन न्यौपानेको भनाई छ । करोडको हाराहारीमा रुद्राक्षमा लगानी गरेको बताउनुहुँदै ब्यावसायी न्यौपानेले लगानी फर्कने आस मरेको बताउनुभयो ।

केहि बर्ष अघिसम्म बोटमा मात्र लगानी गर्दै आएका ब्यवसायीहरुले यस बर्ष औषधी समेत खरिद गरेर बोटमा छर्केका थिए । लाखौ रुपैयाँमा खरिद गरेर औषधी हालिए पनि फुल नै झरेपछि घाटाको मात्रा बढेर गएको हो । चिनबाट लाखौ रुपैयाँमा ‘भिटामिन’ भनिएको रुद्राक्ष चिल्लो पार्ने औषधी खरिद गरेर बोटमा प्राय सवैले छर्केका थिए । तर फुल नै झरेपछि औषधीमा गरिएको लगानी पनि बालुवामा पानी भएको छ ।

यस बर्ष अरुण उपत्यका क्षेत्रमा एक बोटलाई एक करोड २० लाख रुपैयाँसम्म लगानी गरेका छन् । गत बर्ष एकै बोटलाई एक करोड ४५ लाख रुपैयाँमा ब्यावसायीले ठेक्का हालेको रुद्राक्ष ब्यावसायी संघ सङ्खुवासभाले जनाएको छ । सङ्खुवासभाको चेवाबेँशी, स्याबुन, याफु, चन्दनपुर लगायतको क्षेत्रमा गुणस्तरिय रुद्राक्ष फल्दै आएको ब्यावसायीहरु बताउछन् ।

चिल्लो र ठुलो आकारको रुद्राक्ष चिनियाँ ब्यापारिले खरिद गरेर लैजाने गरेका छन् भने मुखदार रुद्राक्ष भारत निर्यात हुने गरेको छ । कोरोना भाईरसको संक्रमण बढेपछि ब्यापारिहरुको आगमन नहुँदा रुद्राक्ष ब्यावसाय खस्कने अनुमान गरिएको बेला अत्याधिक बर्षाको कारण उत्पादन घट्ने भएपछि सङ्खुवासभाको अर्थतन्त्रमा यसको ठुलो असर देखिने जानकारहरुले बताउदै आएका छन् ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार