सिलिचोङ पहिरोः दुई दिन खोज्दा पनि भेटिएन ११ जना बेपत्ता




खाँदबारी । २७ गते राती सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा ९ घर पहिरोले बगाउदा ११ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई दिनसम्म बेपत्ताहरुको खोजी गर्दा पनि भेटिएको छैन ।

केहि दिनदेखि परेको भारी बर्षाका कारण गाउँ माथीबाट पहिरो गएपछि माने कुलुङ, सन्दिप कुलुङ, जुद्धबहादुर कुलुङ, गौरी राई, नगमाया, भिमबहादुर कुलुङ, शिबधन कुलुङ, हर्कधन राई र राममान कुलुङ को घर पहिरोले बगाएको हो । उक्त घरसँगै राममान, हस्तीकुमारी, नम्रता, एञ्जिला, बिनिला, गोरीमाया, उत्तरकुमारी, जुद्धबहादुर, धनसंकर, आईतजिन र नजमाया कुलुङ बेपत्ता भएका हुन् ।

राती पहिरो गएपछि विहान सिसुवाटार प्रहरी चौकी र ताम्कु प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल पुगेका थिए । वेपत्ताहरुको उद्धारको लागि जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरिक्षकको नेतृत्वमा उद्धार टोली पठाईएको थियो । त्यस्तै, नयाँ रणभिम गुल्म ताम्कुबाट पनि नेपाली सेनाको उद्धार टोली घटनास्थलमा खटिएका छन् ।

७० जनाको सुरक्षा टोलीले लगातार खोजी गर्दा पनि बेपत्ताहरु नभेटिएको घटना स्थलमा खटिनुभएका प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिनुभयो । घर पुरिएको क्षेत्रमा खोजी गर्दा पनि बेपत्ताहरु नभेटिएकोले भेटिने सम्भावना न्युन रहेको समेत राईले बताउनुभयो ।

सम्बन्धित समाचार