सिलिचोङ पहिरोः विस्थापितहरुलाई सिसुवाटारमा पुर्नवास गराईने, हेलिकप्टरबाट खाद्यन्न पुराईयो




खाँदबारी । बेसिन्दा गाउँलाई नै पहिरोले बगाएपछि विस्थापित बनेका ८६ परिवारलाई सिसुवाटारमा राखिने भएको छ । घटना लगत्तै गाउँ माथीको चित्रे गाउँमा पुराईए पनि उक्त स्थान पनि असुरक्षित रहेको स्थानीयले गुनासो गरेपछि सिसुवाटारमा सारिने भएको हो ।

सिसुवाटारमा पुराईएकाहरुको लागि नेपाली सेनाको हेलिकप्टरबाट खाद्यन्न सामग्री पुराईएको छ । प्रदेश सरकारको पहलमा संघिय सांसद र प्रदेश सांसदहरु, पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ सहितको टोलीले सिसुवाटारमा खाद्यन्न सामग्री पुराएको हो । सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेतको टोली हेलिकप्टर मार्फत घटना स्थल तर्फ गएको भएपनि मौसम प्रतिकुलताका कारण अवतरण गर्न सकेको थिएन । प्रदेश सरकारले चामल २ हजार २ सय ५० किलोग्राम, दाल ४ सय किलोग्राम, खाने तेल १ सय २० लिटर, नुन १ सय किलोग्राम, विस्कुट ५३ थान, म्याटेस ३ रोल र त्रिपाल ५ थान उपलब्ध गराएको हो ।

उक्त सामग्रीहरु जति सक्दो चाँडो विस्थापितहरुसम्म पुराउने प्रयास गरिएपनि मौसम खरावीको कारण ढिलो भएको प्रदेश एक सामाजिक विकास समितिका सभापति सरिता थापा खड्काले बताउनुभयो । विस्थापितहरु रहेको स्थान चित्रे गाउँमा नै सामग्रीहरु पुराउन प्रयास गरिएपनि हेलिकप्टर अवतरण गर्न नसकेपछि फकिएको थियो । राहत सामग्री गाउँपालिकाको समन्वयमा उपलब्ध गराईएको समेत सभापति खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार