सिलिचोङः बेसिन्दा पहिरोले ओझेलमा परेका विपत्तीहरु



चेप्चेवा गाउँ माथीबाट खसेको पहिरो र क्षति । तस्विरः ध्यान कुलुङ

खाँदबारी । असार २७ गते भारी बर्षाको कारण संखुवासभाको विभिन्न स्थानमा पहिरो गएको थियो । सवैभन्दा ठुलो क्षति सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ सिसुवाखोलाको बेसिन्दा गाउँमा भयो ।

यहाँको पहिरोले ९ घर बगाएको छ भने ११ जना बेपत्ता छन् । २७ गते राती सिलिचोङ गाउँपालिकाको अन्य स्थानहरुमा पनि पहिरो जादा ठुलो क्षति पुगेको छ । तर जनधनको क्षति समेत भएको बेसिन्दाको पहिरोले अन्य स्थानको पहिरोलाई ओझेलमा पारेको छ । वडा नम्बर १ सिसुवाखोलाकै चेप्चेवा गाउँ माथीबाट पहिरो खस्दा चेप्चेवा गाउँ विस्थापित बनेको छ । गाउँ माथिबाट पहिरो खस्दा त्यहाँ रहेको सम्पुर्ण संरचनाहरुमा क्षति पुगेको छ । पहिरोले वडा कार्यालय, ईलाका हुलाक कार्यालय, स्थानीय सहकारीको कार्यालय र केहि स्थानीयको घरहरुमा क्षति पुगेको छ । त्यस्तै चेप्चेवाकै सिसुवाखोलामा रहेको झोलुङ्गे पुलमा पुर्ण रुपमा क्षति पुगेको छ ।

उक्त पहिरोले चेप्चेवा गाउँमाथी रहेको होयेङ्ला गाउँ उच्च जोखिममा पारेको छ । अझै त्यस ठाउँमा पहिरो गए होयेङला गाउँ पहिरोले तान्ने सम्भावना रहेको छ । त्यस्तै, सिसुवाखोला गाउँकै गोगने गाउँमा पनि पहिरोले स्थानीय उच्च जोखिममा परेका छन् । गोगने गाउँको ठाउँ ठाउँमा पहिरो गएको छ भने विभिन्न स्थानमा भुभाग चिराचिरा परेको छ । अझै थप बर्षा भए त्यस गाउँलाई पनि पहिरोले बगाउने उच्च सम्भावना रहेको स्थानीय भुपाल कुलुङले जानकारी दिनुभयो ।

सिसुवाखोला गाउँका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुराएपनि अहिले सवैको ध्यान बेसिन्दा गाउँमा एकिकृत भएको छ । सिलिचोङ गाउँपालिकाले भने बेसिन्दाका पहिरो विस्थापितहरुको ब्यवस्थापन सकिए लगत्तै क्षतिको बिवरण संकलन गरेर अगाडी बढ्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार