बेहाल जोगवनी किमाथाङ्का राजमार्ग, खाँदबारी चिचिला सडक खण्ड हिलाम्य




खाँदबारी । तीन देशलाई जोड्ने जोगवनी किमाथाङ्का राजमार्गको खाँदबारी चिचिला सडक खण्ड हिलाम्य हुँदा आवतजावतमा समस्या भएको छ । दैनिक हजारौं सवारी साधन चल्ने यस सडक खण्ड हिलाम्य भएपछि यात्रु र स्थानीयले सास्ती खेप्नु परेको छ ।

सदरमुकाम खाँदबारी देखी उत्तरी क्षेत्र लागेपछि खाँदबारी नगरपालिका वडा नंं ४ को पांमा, अरुणथान र सेकाहा क्षेत्रमा करिब ८ किमि सडकखण्डमा आवातजावात गर्न समस्या छ । उक्त क्षेत्रको भगिवन्त रंगशाला क्षेत्र र अरुणथान लगायतको क्षेत्रमा सडक हिलाम्य भएपछि साना सवारी साधन चल्न सकेको छैन । त्यस्तै, छ्याङ्कुटी र चिचिला विचको सडक पनि हिलाम्य भएपछि सास्ती बढेको हो । निरन्तरको बर्षामा ठुला सवारी साधनहरु लगातार चल्ने भएपछि सडक हिलाम्य भएको हो ।

सेकाहा र पाङ्मा क्षेत्रमा ठुला मालबाहक सामानहरु लगातार गुड्ने र भारी बर्षा भएपछि खेत बारिमा भलबाढी पसेर ठुलो क्षति पुराएको छ । त्यस क्षेत्रमा रोप्न तयार गरिएको खेतमा ढुङ्गा माटो सहितको लेदो पसेपछि रोपाई रोकिएको खाँदबारी ४ सेकाहाका रविन गुरुङले बताउनुभयो । सडक निर्माण र मर्मतको अख्तियारी लिएको सडक डिभिजन कार्यालयको लापरबाहिको कारण स्थानीयले विभिन्न किसिमका समस्याहरु भोग्नु परेको गुरुङको भनाई छ । खेतबारीमा बगेको लेदोले क्षति पुराए वापतको क्षतिपुर्ती आफुहरुले पाउनु पर्ने समेत गुरुङको माग छ ।

समयमा सडक स्तर उन्नती नगर्ने तर ठुला मालबाहक सवारी साधनहरु निरन्तर चलाउने हुँदा सडकको हालत यस्तो बनेको स्थानीय नागरिकहरु बताउछन् । सडक मर्मतमा स्थानीय तहको समेत पर्याप्त ध्यान नपुगेको खाँदबारी ४ का शेरबहादुर राईको गुनासो छ । अन्तराष्ट्रिय महत्व राखेको यस सडक खण्ड कालोपत्रे भईसक्नु पर्नेमा मर्मत समेत नहुनु दुखद रहेको राईको भनाई छ ।

यस विषयमा खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडासँग कुरा गर्दा सडक मर्मतको लागि सडक डिभिजन कार्यालय तुम्लिङटारलाई पटक पटक भनेको र मर्मतको लागि तत्काल काम थाल्ने बताएको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार