सिसुवाखोला पहिरो पिडितलाई राहत पुराउनै मुस्किल



सङ्खुवा खोलाको किनार हुँदै खच्चडबाट सिसुवाखोला चामल लगिदै ।

खाँदबारी । गत असार २७ गते जिल्लाको सिलिचोङ गाउँपालिका १ को सिसुवाखोलामा पहिरो जादा ९ घर बगाएको थियो । ११ जना बेपत्ता भएका छन् भने १ जनाको मृत्यु भएको छ । सिसुवाखोला गाउँको विभिन्न स्थानमा पहिरो गएपछि एक सय ३८ जना विस्थापित बनेका छन् ।

विस्थापितहरुलाई राहत उपलब्ध गराउन विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्था र ब्यक्तिहरुले राहत उपलब्ध गराउने भएपनि पिडितहरु राखिएको ठाउँमा पुराउन सकिएको छैन । खाँदबारी–हेलुबेँशी सडक खण्ड हिलाम्य र बुम्लिङ–बुधबारे सडक खण्डको ठाउँठाउँमा पहिरो गएपछि सामग्री पुराउन सकिएको छैन । सिसुवाखोला जाने सडक ठाउँठाउँमा विग्रिएपछि राहतका सामग्रीहरु सदरमुकाममा थुप्रिएका छन् ।

विभिन्न संस्थाहरुले उपलब्ध गराएको एक सय ७० बोरा चामल, नुन तेल लगायतका खाद्यन्न सामग्रीहरु जिल्ला समन्वय समितिमा राखिएको छ । त्यस्तै, नेपाल रेडक्रस सोसाईटी र राष्ट्रिय पुर्ननिर्माण संस्थाले उपलब्ध गराएको लत्ता कपडा, भाडाकुँडा, त्रिपाल सहितको सामग्रीहरु जिल्ला सदरमुकाम खाँदबारीमा रोकिएको छ । पिडित र विस्थापितहरुको लागि यसरी संकलन गरिएको समग्रीहरु ढुवानी समस्याकै कारण सदरमुकाममा रोकिएको हो ।

यसरी विभिन्न दाताहरुले दिएको सामग्रीहरु समयमा नै नपुग्दा उपभोक्ताहरुको आवश्यकता पुर्ति हुन सकेको छैन । नेपाल रेडक्रस सोसाईटीले भाँडाकुडा दिने भनेपछि त्यसको पर्खाईमा बसेका विस्थापितहरुले अहिले पनि एउटै भाँडामा पालैपालो खाना पकाउनु परेको छ । भाँडा लगायतका सामानहरु आउने भएपछि आफुहरुले पनि उक्त सामानहरु नकिनेको बुधबारेमा अस्थायी बसोबास गराईएको पहिरो विस्थापित निशा कुलुङले बताउनुभयो । सामान अरुले नै दिन्छन् भने आफुले किन किन्नु ? भनेर अहिलेसम्म पनि नकिनेको कुलुङको भनाई छ ।

सिलिचोङ (सिसुवाखोला) जाने सडक ठाउँठाउँमा बिग्रिएपछि खच्चडबाट समते सामग्री पुराउन मुस्किल परेको छ । अहिले केहि स्थानहरुमा खच्चड छिर्ने गरि बाटो मर्मत गरेपछि अति जोखिम मोलेर खच्चडबाट सामान ढुवानी गर्न सुरु भएको छ । पहिरो अघिसम्म ट्याक्टरबाट सस्तोमा ढुवानी गरिएकोमा अहिले महँगो मुल्य तिरेर खच्चडबाट खाद्यन्न सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । यस अघि ट्याक्टरले प्रतिकिला ३ रुपैयाँले बुम्लिङबाट बुधबारे सामग्री पुराएकोमा अहिले खच्चडलाई १० रुपैयाँ तिर्नु परेको सिसुवाखोला गाउँका अनिश कुलुङले बताउनुभयो । बुधबारेबाट पहिरो विस्थापितहरुलाई राखिएको चित्रे गाउँसम्म पुराउन खच्चडलाई प्रतिकिलो २० रुपैयाँ तिर्नुपछ ।

पहिरो गएको लामो समयसम्म पनि भत्किएको सडक मर्मत नहुँदा स्थानीयले गुनासो गर्न थालेका छन् । भत्किएको सडकलाई मर्मत गरे सस्तोमा विस्थापितहरुसम्म सामान पुराउन सकिने स्थानीयको भनाई छ । खाँदबारी–हेलुवाबेँशी र बुम्लिङ–बुधबारे विचको भत्किएको सडक मर्मतमा गाउँपालिकाले तत्काल प्रकृया अघि बढाउनु पर्ने स्थानीयको माग छ । हेलुवाबेँशीसम्मको सडकको ठाउँठाउँमा ढुङ्गा विच्छ्याने र बुधबारेसम्मको सडक केहि ममर्त गरे सहजै बुधबारे पुग्ने स्थानीय सन्तोष कुलुङको भनाई छ ।

सडक मर्मतको लागि गाउँपालिकाका प्राविधिकहरुलाई स्टिमेट गर्न लगाईएको र अव तत्काले सडक मर्मत गर्ने योजना रहेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । दैनिकजसो पानी परिरहेकोले कामलाई गति दिन नसकिएको समेत अध्यक्ष कुलुङले बताउनुभयो ।

सम्बन्धित समाचार