खाँदबारीको हिमालय क्याम्पस आईसोलेसन वार्डमा तोडफोड, क्याम्पस प्रमुख पक्राउ




सङ्खुवासभा, भदौ ६ गते । जिल्लाको हिमालय किरण पब्लिक क्याम्पसमा स्थापना गरिएको आईसोलेसन वार्डमा तोढफोड भएको छ । जिल्लाका ३ कोरोना भाईरस संक्रमितहरुलाई राखिने भएपछि शुक्रबार राती आईसोलेसन वार्डमा तोडफोर गरिएको हो ।

कोरोना संक्रमितहरुलाई राख्नको लागि सम्पुर्ण मापडण्ड सहितको आईसोलेसन कक्षको साँचो काटेर भित्र प्रवेश गरि तोडफोड गरिएको खाँदबारी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुन्दर श्याम झाले जानकारी दिनुभयो । आईसोलेसनमा अत्यावश्यक सामग्रीहरु चोरि भएको समेत निमित्त मेसु झाले जानकारी दिनुभयो । झाका अनुसार आईसोलेसनका करिब १५ लाख बराबरको सामाग्री चोरी भएको हो । अज्ञात समुहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० थान पिई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडर लगायतका सामाग्री चोरी भएको अस्पतालका मेसु झाले जानकारी दिनुभयो ।

यसै विच, हिमालय किरण पब्लिक क्याम्पसमा बनाईएको आईसोलेसन वार्डमा तोडफोड भएपछि क्याम्पस प्रमुख डाक्टर मात्रिका प्रसाद तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । तोडफोड हुनुमा क्याम्पस प्रमुखको चलखेल हुनसक्ने भन्दै अनुसन्धानका लागि डाक्टर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिनुभयो । डाक्टर तिम्सिनाको घटना अघिका केहि अभिब्यक्तिका कारण उहाँलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको निरिक्षक राईले स्पष्ट पार्नुभयो । घटनामा संलग्न अन्यको पनि खोजी भईरहेको राईको भनाई छ ।

सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा बनाईएको क्वारेन्टाइनमा रहेका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र अर्को २२ वर्षीय एक पुरुषमा समेत कोरोना पोजिटिभ देखिएको हो । उनीहरुलाई बिहीबार क्याम्पसमा निमार्ण गरिएकोे आईसोलेसनमा ल्याउने भएपछि स्थानीयले विरोध गर्दै आएका थिए ।

क्याम्पसको आईसोलेसनमा तोडफोड गरिएपनि सोहि ठाउँमा पुनः मर्मत गरेर कोरोना संक्रमितहरुको उपचार भईरहेको खाँदबारी अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभयो । तोडफोडपछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जनाको उपचार भईरहेको उहाँको भनाई छ । कोरोना पुष्टि भएको चौथो दिनमा उनीहरुलाई आईसोलेसनमा ल्याईएको हो ।

सम्बन्धित समाचार