क्याम्पस प्रमुखको गिरफ्तारी र उठेका प्रश्नहरु




खाँदबारी । मैले संखुवासभाको माटोमा ६ दशक बिताएर सेवा निवृत्त भएपछि अलिक बढी काठमाण्डुमा र बेला बखत खॉदबारीको प्रेमले तानेर खॉदबारी जाने आउने गरिरहेको छु । हालको खॉदबारी नगरपालिका क्षेत्र नै मेरो जीवनको सबैभन्दा बढी समय बिताएको भूगोल बन्यो ।

मैले २०३२ सालमा ढुंगेधाराको प्राथमिक शिक्षक हुॅदा नै “ मेरी अप्सरा जस्ती खॉदबारी” शीर्षकको कविता रचना गरें र ऐलेपनि म काठमाण्डुमा सपरिवार बसेर पनि आफूलाई खॉदबारी बासी भन्न रुचाउॅछु । मैले त्यहीॅ शिक्षक हुॅदै राजनीति पनि बुझें र निश्चित दलमा बसेर आफ्नो भूमिका निर्वाह गरें । साधारणतया विक्रम संवत २०१८ साल देखि हालसम्म भएका मुख्य मुख्य राजनैतिक, सामाजिक तथा शैक्षिक घटनाक्रम र तिनले त्यहॉको समाजमा पारेका प्रभावको बारेमा ज्ञान छ मलाई । पंचायती कालखण्डमा पंचायत बिरोधि गतिविधिमा नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति शिवकुमार गौलीसॅगको बहुदलको प्रचार प्रसार देखि पछिल्लो समयमा शैक्षिक अभियन्ता डा. मातृकाप्रसाद तिम्सिनासॅग मैले गरेका सहयात्राको यतिखेर याद आइरहेको छ ।

अरु धेरै गन्थन भन्दा पनि २०७७ साल भाद्र ५ गते संखुवासभाका एक प्रखर शैक्षिक तथा सामाजिक अभियन्ता श्री हिमालय किरण सामुदायिक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. मातृकाप्रसाद तिम्सिनालाई लागेको डकैती मुद्दाका कारण भएको उहॉ माथि भएको अमानवीय हर्कतको गिरफ्तारीले मलाई एकदम स्तब्ध बनायो र मेरा मनमा असंख्य प्रश्नहरु खडा भए । ऐले मातृका तिम्सिना विरुद्धमा विष वमन गर्ने र उहॉको गिरफ्तारीमा रमाएर सामाजिक सन्जालमा तथानाम लेख्ने खॉदबारीको माटोका धर्तीपुत्रहरुलाई क्षणिक आत्मरती त भयो होला नै तर मातृकाले त्यो माटोमा गरेका असल कामको १० प्रतिशत काम तिनले गरेर देखाउन मातृकाको दशांश शैशिक तथा सामाजिक काम गरेर देखाउन तिनलाई म चुनौति दिन्छु । २०३२ सालमा ढुंगेधाराको घर छाडेर पढ्न काठमाण्डौ हिॅडेका र शिक्षा आर्जन पछि काठमाण्डौमा नै स्थायी बास बनाएर २०३५ साल देखि काठमाण्डौ मैं स्थायी जागिर खॉदै बसेका मातृकालाई हामीले नै २०५३ सालमा स्थायी जागिर राजीनामा दिन लगाएर जन्मभूमि मै केही गरौं भनेर ल्यायौं । कहिल्यै दम्भ नदेखाउने विद्वान, अत्यन्त शालीन र सादा जीवन र उच्च बिचारका पर्यायी कर्मवीर मातृकाले गरेका असल र दुनियॉले प्रशंसा गर्न लायक कामको लामै फेहरिस्ता छ त्यहॉ । कसैले भनिरहनु पर्दैन जो आज दुनियॉले उपभोग गरिरहेका छन् ।

२०५४ साल देखि हालसम्म कहिल्यै मातृका तिम्सिनाको र मेरो यौटै राजनैतिक विचार हुन सकेन तथापि उहॉले यो ठाउॅमा गरेका प्रसंशनीय कामहरुको मैले चर्चा गर्नै पर्छ । २०५५।०५६ सालमा यौटा वरुण क्याम्पसमा मात्र ंदश जोड दुई पढ्न पाइन्थ्यो । संखुवासभा जिल्लाको सदरमुकामा रहेको हिमलय माध्यमिक विद्यालयमा दश जोड २ खोल्ने अभियन्ता, दश जोड २ मा विज्ञान विषयको कक्षा संचालन गर्ने र त्यसको आर्थिक व्यवस्थापनका लागि महायज्ञ लगाई सहज बनाउने अभियन्ता, सामाजिक विकृति र विसंगति विरुद्ध दलीतहरुको मुक्ति आन्दोलनका अगुवा, योगमायालाई विभूति घोषणा र योगमाया आयुर्वेद विश्वविद्यालयका अभियन्ता, भारतीय राजदुताबासको आर्थिक सहयोगमा हिमालय किरण क्याम्पस भवन निर्माणका अगुवा, क्याम्पसको जग्गा खरिदका अगुवा, आफ्ना गुरु जंगबहादुर प्रसाद ठाकुरको नाममा शिक्षक आवास गृह निर्माणका अभियन्ता आदि आदि। यस्ता अनेकौं अभियान संचालन गरेका अभियन्तालाई प्रशासनले डाका मुद्दा लागिरहॅदा टुलुटुलु हेरिरहने तीनै अभियानको प्रतिफल उपभोग गर्ने उपभोक्ताहरुले प्रतिकार नगरेको देख्दा र केही व्यक्तिहरुले उल्टै आत्मरती गरेको देख्दा खॉदबारीका पुराना विद्यावारिधि गरेका विद्वानहरुले त्यहॉका मानिसहरु चिनेरै पलायन भएछन् भन्ने लाग्न थालेको छ र के अब हामीले पनि सदाका लागि छाड्नै पर्ने हो त भन्ने प्रश्न मनमा उठ्छ ।

म विगतलाई सम्झन्छु, २०४८ सालताका खॉदबारीका साहु महाजनहरु अब हाम्रा मात्र दिन आए भन्ने सम्झन्थे परन्तु २०५८ सालको भदौ १२ गते माओवादीले आयोजना गरेको विशाल आमसभामा तिनै साहुमहाजन र एमाले कांग्रेसका थुप्रै साथीहरुले माओवादीको उक्त सभाका अतिथी वासु शाक्यको घुॅडो समातेर फोटो खिचेका तस्विर र खॉदबारीबाट गएका तत्कलीन गैर माओवादी सबैले माओवाद जिन्दावाद लेखिएका फेटा बॉधेर बाह्बिसे बजार परिक्रमा गरेको झझल्को मलाई ऐले पनि आइरहेको छ । समय बहुत बलवान छ आज मेरो शहरमा यौटा शिक्षक यौटा अभियन्तालाई अत्यन्त अमानवीय ढंगले गिरफ्तारी गरिरहॅदा हाम्रो शिक्षक जगत किन मौन छ ? कसैको ५ करोडको घरको पेटी कसैले हडप्यो अतिक्रमण गर्यो भने के ५ करोड कै क्षति भएको मानिन्छ त ? छिमेकीका गाईले बिगार गरेका बालीको उचित अर्मल गर्न समेत नसक्ने अक्षम जनप्रतिनिधिले नै नेतृत्व गरिरहेको हो त खॉदबारी नगरपालिकामा ? के १५ लाख कै क्षति भएको मान्छ त हाम्रो ब्रम्हले ? मातृकाको गिरफ्तारीले त्यति मात्र प्रश्न जन्माएको छैन, भोलि मातृका तिम्सिना क्याम्पसको नेतृत्व छाडेर नेकपाको नेतृत्वमा आउनु भयो भने हामी कहॉ हुन्छौं ? यदि मातृकाको सहनुभूतिमा विप्लव समुहले प्रतिरक्षा गर्न चाह्यो भने ऐले डा. मातृका बिरुद्ध विष वमन गर्नेहरुले बाह्रबिसेमा वासु शाक्कको घुॅडो समाते झैं मातृकाको घुडो समात्ने त छैनन् कतै । यी र यस्ता थुप्रै प्रश्न मेरा मनमा आइरहेका छन् । ऐले तत्कालको लाभहानीलाई हेर्नु भन्दा पनि सुदूर भविश्यलाई सोचेर यौटा शैक्षिक तथा सामाजिक अभियन्तालाई लागेको आरोपमा उचित क्षतिको मात्र विगो भराऔं । सबै राजनैतिक दल र नागरिक समाज, शिक्षक, वुद्धीजिवी बसेर मातृका सहितका सबै आरोपिहरुलाई रिहाई गराऔं । मर्दाका मलामी र बॉच्दाका जन्तीलाई माया नमारौं ।

सम्बन्धित समाचार