विद्युत अनियमितताको मारमा सङ्खुवासभावासी




सङ्खुवासभा । जिल्लामा विद्युत आपुर्तिमा अनियमितता भएको करिव तीन महिना भयो । लामो समयसम्म पनि विद्युतमा आएको समस्याको समाधान नहुँदा जिल्लावासी मारमा परेका छन् ।

हाल २४ घण्टामा औषतमा १० पटकसम्म विद्युत आउने र जाने गर्छ । विद्युत आपुर्ति भएको करिव १ घण्टापछि बन्द हुने र फेरी आपुर्ति हुने कुनै टुङ्गो हुदैन । कुनै समय भने विद्युत आएको पाँच मिनेट मै बन्द हुने समस्या छ । यसरी विद्युत आपुर्तिमा अनियमितता भएपछि विद्युतमा आधारित ब्यावसायहरु समस्यामा परेका छन् । मुख्य गरि जिल्लामा सञ्चालित सञ्चार माध्ययम, छापाखाना, डेरी लगायत ब्यावसायहरु समस्यामा परेका छन् ।

कृषकहरुबाट संकलित दुध र दुधका परिकारहरु निश्चित तापक्रममा राख्नको लागि विद्युत आवश्यक पर्ने भएपनि विद्युतमा आएको समस्याका कारण ब्यावसाय धरापमा पर्न लागेको मागध पोषण डेरीका सञ्चालक खड्गबहादुर राईले बताउनुभयो । दुधको ब्यावसाय आफैमा सम्वेदनशिल छ, विद्युत आपुर्तिमा समस्या भएपछि ब्यावस्थापन गर्न गाह्रो भयो राईले भन्नुभयो ।

यता छापाखाना सञ्चालकहरुलाई पनि विद्युतकै कारण ब्यावसाय सञ्चालनमा समस्या परेको युनिक प्रेसका सञ्चालक प्रविण श्रेष्ठको भनाई छ । कोरोना सन्त्रासकै विचमा अलिअलि काम आएपनि भनेको बेलामा विद्युत नभएपछि ग्राहक फर्किने गरेको श्रेष्ठको गुनासो छ । ग्राहकले भनेको बेला काम हुँदैन, जेनेरेटर चलाउने गरि कामको लोड पुग्दैन, श्रेष्ठले भन्नुभयो । थोरै कामको लागि ठुलो क्षमताको जेनेरेटर सञ्चालन गर्दा कामको लागत बढ्ने हुँदा ग्राहक मारमा पर्ने गरेको समेत श्रेष्ठको भनाई छ ।

विद्युत आउने र जाने कुनै टुंगो नभएपछि जिल्लामा सञ्चालित रेडियोहरु सञ्चालनमा कठिनाई भएको रेडियो सञ्चालकहरुको गुनासो छ । विद्युत आउने भन्दा पनि जानेको समयावधी धेरैभएपछि कत्तिपय रेडियोहरु बन्द गर्नु परेको पत्रकार महासंघ सङ्खुवासभाका अध्यक्ष ईन्द्र गिरीले बताउनुभयो । जिल्लाका अधिकांस रेडियोहरुको ब्याट्रि ब्याकप कमजोर भएकोले लामो समय विद्युत आपुर्ति नहुँदा बन्द गर्नु पर्ने बाध्यता रहेको अध्यक्ष गिरीले बताउनुभयो ।

लामो समयसम्म पनि विद्युत आपुर्तिको समस्या समाधान नभएपछि स्थानीयले विद्युत प्राधिकरण वितरण शाखा प्रमुखको नियत माथी नै प्रश्न चिन्ह उठाउन थालेका छन् । ईन्भटर, सोलार लगायतका बैकल्पिक बस्तुहरुको बजार बृद्धि गराउने गरि चलखेल भएको हुनसक्ने स्थानीयले आरोप लगाउन थालेका हुन् । तर यसमा कुनै सत्यता नभएको खाँदबारी वितरण शाखाका प्रमुख राम आशिष शाहको भनाई छ । विद्युत आपुर्तिमा आएको समस्या समाधानकै लागि आफुहरु दिन रात लागि परेको शाहको दावी छ ।

दुवी (सुनसरी) देखि तिर्तिरे (सङ्खुवासभा) विचको प्रसारण लाईनमा समस्या आउने गरेकोले पटक पटक विद्युत आपुर्तिमा समस्या भएको खाँदबारी वितरण शाखाका प्रमुख शाहले जानकारी दिनुभयो । हाल विद्युतको उत्पादन बढी र खपत पनि बढी भएको तर विद्युत पास गर्ने शव स्टेशनको क्षमता न्यन भएको कारण समस्या भएको शाहको भनाई छ । विद्युतको तिर्तिरे सवस्टेशनमा ओभर लोड भएपछि विद्युत आपुर्तिमा समस्या रहेको शाखा प्रमुख शाहले स्पष्ट पर्नुभयो । उक्त सवस्टेशनको क्षमता १५ मेगावाटको मात्र रहेको तर २५ मेगावाटसम्म विद्युत पठाउनु पर्ने भएकोले ठाउँ ठाउँमा समस्या आउदा आपुर्तिमा समस्या भएको उहाँको भनाई छ । यो सबस्टेशन मार्फत सङ्खुवासभा, भोजपुर र तेह्रथुममा उत्पादन भएको विद्युत पठाउने र उक्त जिल्लाहरुको उपभोक्ताहरुसम्म पराईदै आएको छ । यो समस्या कोशी करिडोर प्रसारण लाईन सञ्चालन नभएसम्म नै रहने शाहको दावी छ ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार