सङ्खुवासभामा सत प्रतिशत रोपाई




सङ्खुवासभा । जिल्लामा यस बर्ष सत प्रतिशत रोपाई गरिएको छ । पर्याप्त पानी परेको र जनशक्ति पर्याप्त भएसँगै यस बर्ष जिल्लामा सत प्रतिशत रोपाई गरिएको कृषी ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ ।

सङ्खुवासभामा ३० हजार हेक्टर क्षेत्रफलमा रोपाई गरिन्छ । त्यसमध्ये १५ हजार चार सय ३६ हेक्टरमा आकाशे पानीको भरमा रोपाई गरिन्छ । त्यस्तै ९ हजार ३ सय २२ हेक्टर बर्षातको समयमा मात्र र ५ हजार २ सय ४२ हेक्टर क्षेत्रफलमा चैत्रे धान पनि रोपिन्छ । यस बर्ष बर्षातको सुरुदेखि नै पानी परेकोले सिंचाईमा समस्या नभएको कृषी ज्ञान केन्द्रका प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । आकाशे पानीको भर पर्नु पर्ने खेतहरुमा समेत यस बर्ष पानीको अभाव नभएको ज्ञान केन्द्रका प्रमुख आचार्यको भनाई छ ।

अघिल्लो बर्षहरुमा कृषी मजदुरहरुको समेत अभावमा केहि खेतहरु बाँझिने गरेको थियो । यस बर्ष कोरोना भाईरसको त्रासका कारण सहर पसेकाहरु गाउँ फर्किएपछि कृषी मजदुरहरुको पनि अभाव खेप्नु परेन । आवश्यक जनशक्ति र सिंचाईको समस्या नभएपछि यस बर्ष रोपाई सहजताका साथ सम्पन्न भएको प्रमुख आचार्यले स्पष्ट पार्नुभयो । गत बर्ष भने जिल्लामा ८० प्रतिशत मात्र रोपाई भएको कृषी ज्ञान केन्द्र सङ्खुवासभाको तथ्याङ्कमा छ ।

यस बर्षको रोपाई सन्तोषजनक रहेकोले धान उत्पादनमा पनि बृद्धि हुने कृषी ज्ञान केन्द्रले अपेक्षा गरेको छ । सङ्खुवासभामा धानको उत्पादकत्व प्रतिहेक्टर २ दशमलब ७ मेट्रिकटन रहेको छ । अघिल्लो बर्षहरुमा भने मल र सिंचाईको अभावका कारण उत्पादनमा केहि कमी आएको थियो । यस बर्ष मलको उपलब्धतामा केहि समस्या भएपनि पर्याप्त सिंचाईकै कारण उत्पादन नघट्ने कृषी ज्ञान केन्द्रको दावी छ ।

जिल्लामा चेवाबेँशी, केवाबेँशी, हेलुवाबेशीँ, कल्छेबेँशी, धुपुसेरा लगायतका खेतहरुमा धान बढी फल्ने गरेको छ । यस क्षेत्रका खेतहरुको उत्पादकत्व पनि बढि छ । यस क्षेत्रहरुमा चैते धान पनि उत्पादन गरिन्छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ मेट्रिकटन रहेको छ ।

गोरखापत्र दैनिकबाट ।

सम्बन्धित समाचार