संखुवासभाः २ जना थुनुवाहरुमा कोरोना संक्रमण भेटियो, संक्रमतिको संख्या १० पुग्यो




खाँदबारी । जिल्ला प्रहरी कार्यालयमा बहुबिवाहको मुद्धाको अनुसन्धानमा रहेको दुई जना थुनुवाहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रबार आएको पिसिआर परिक्षणको रिपोर्टमा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा २८ बर्षिय १ पुरुष र ३३ बर्षिया १ महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा थुनुवाका रुपमा रहेका उनिहरु पाँचखपन र खाँदबारी नगरपालिका भित्रका रहेको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । उनीहरुलाई २२ दिन अघि बहुबिवाह मुद्धामा पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका मिडिया समन्वय अधिकृत प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिनुभयो । थुनिएको अवस्थामा महिला एक्लै राखिएको थियो भने पुरुष भने अन्यसँगै समुहमा राखिएको थियो । अदालतमा पेश गर्नु पुर्व अनिबार्य पिसिआर परिक्षण गर्नु पर्ने भएपछि उनीहरुको परिक्षण गर्ने क्रममा यस्तो रिपोर्ट आएको हो ।

यसै बिच, केहि दिन अघि कोरोना पुष्टी भई खाँदबारीको हिमालय किरण पब्लिक क्याम्पसमा बनाईएको आईसोलनमा उपचार गराईरहेका १ जना प्रहरी सहित ४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उपचार पश्चात गरिएको पहिलो परिक्षणको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुको रिपोर्ट नेगेटिभ आएसँगै निश्चित समय होम क्वारेण्टाईमा बस्ने गरि घर फर्काउने तैयारी भईरहेको स्वास्थ्य कार्यालयका प्रबक्ता रोषन श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार