सिलिचोङ पहिरो विस्थापितका लागि जग्गा खोजीको काम सुरु




ताम्कु । गत असार २७ गते राती सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरो गएपछि विस्थापित भएकाहरुको लागि जग्गाको खोजी सुरु गरिएको छ । उनीहरुको स्थायी पुर्नवासको लागि गाउँपालिकाले जग्गा खोजी गर्न सुरु गरेको छ ।

पहिरो पिडितहरुको स्थायी ब्यवस्थापनको लागि ईच्छुक भुमिदाता तथा जग्गादाताहरुले १५ दिन भित्र जग्गाको बिवरण उपलब्ध गराउने आसयको सुचना जारी गरेको छ । भदौ १८ गते जारी गरिएको सुचनामा उपलब्ध गराउनु पर्ने दररेट समेत तोकिएको छ । उपलब्ध हुनु पर्ने खेत तर्फको जग्गाको मुल्य प्रति बर्गमिटर अब्बलको ४५ रुपैयाँ, दोयम तर्फ ३०, सिम तर्फ २५ र चाहार तर्फ २९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, पाखाबारी तर्फ अब्बलको ३०, दायमको २०, सिमको १२ र चाहारको १० रुपैयाँ तोकिएको छ । त्यस बाहेक तिवाटार, बखल्टुमटार, सिक्तेमटार, बुधबारे, तेयुङ, माक्रुक, चिर्खुवा, पौखमटार र ताम्कु क्षेत्रको सय मिटर आसपासको जग्गाको मुल्य ६ सय रुपैयाँ तोकिएको छ । यसरी तोकिएको मुल्यको परिधि भित्र रहेर दाताहरुले जग्गा उपलब्ध गराउन सक्ने गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

यस बर्षको पहिरोले सिसुवाखोलाका १ सय ३८ परिवार विस्थापित भएको छ । सिसुवाखोलाको बेसिन्दाको पहिरोमा ९ घर बग्दा ११ जना बेपत्ता भएका छन् । एक जनाको भने घटना स्थलमा मृत्यु भएको छ । विस्थापित बनेकाहरुलाई चित्रे, बुधबारे र तिवाटारमा अस्थायी क्याम्प बनाएर राखिएको छ ।

सम्बन्धित समाचार