संखुवासभामा कार्यन्वयन भएन औद्योगीक ग्राम योजना




सङ्खुवासभा । अघिल्लो आर्थिक बर्षमा संघिय सरकारले ल्याएको एक स्थानीय तह एक औद्योगीक ग्राम कार्यक्रम सङ्खुवासभामा कार्यन्वयन भएको छैन । जिल्लाका दश वटै स्थानीय तहहरुले जग्गाको ब्यवस्था गर्न नसक्दा औद्योगीक ग्राम स्थापना गर्न नसकिएको हो ।

पाँच नगरपालिका र पाँच गाउँपालिका गरि दश स्थानीय तह रहेको सङ्खुवासभामा खाँदबारी नगरपालिकाले केहि प्रयास गरेको बाहेक अन्यले जग्गाको खोजी समेत गरेका छैनन् । कुनै पनि स्थानीय तहले योजना कार्यन्वय गर्न नसकेपछि डिपिआर गर्ने गरि आएको बजेट फ्रिज भएको छ । दश स्थानीय तहहरुमा स्थापना हुने औद्योगिक ग्रामको डिपिआरको लागि घरेलु तथा साना उद्योग विकास समिति मार्फत आएको बीस लाख रुपैयाँ फर्किएको घरेलु विकास समिति सङ्खुवासभाका प्रमुख रामप्रसाद दाहालले जानकारी दिनुभयो । आर्थिक बर्षको अन्त्यसम्ममा पनि कुनै स्थानीय तहहरुले जग्गाको ब्यवस्था गर्न नसकेपछि बजेट फ्रिज भएको उहाँले स्पष्ट पार्नुभयो ।

पहाडी क्षेत्रका स्थानीय तहमा औद्योगीक ग्राम बनाउनको लागि कम्तिमा ३० रोपनी जग्गा आवश्यक पर्ने र सोको लागि सम्पुर्ण खर्च ब्यवस्थापन स्थानीय तहले गर्नु पर्ने कार्यविधिमा ब्यवस्था गरिएको छ । निशुल्क वा सशुल्क जस्तो भएपनि आवश्यक जग्गाको ब्यवस्था स्थानीय तहले गर्नु पर्ने तर सो कार्य सहज नभएको चैनपुर नगरपालिकाका प्रमुख भरत खत्रीको भनाई छ । बजार क्षेत्र नजिक, सडक, विद्युत, सञ्चार लगायतका सुविधाहरु भएको जग्गा कसैले पनि निशुल्क दिन नसक्ने र खरिद गर्न स्थानीय तहसँग पनि बजेट नहुने भएकोले जग्गा ब्यवस्था गर्न नसकिएको प्रमुख खत्रीले बताउनुभयो । बजार नजिक क्षेत्रमा ३० रोपनी जग्गा किन्नु परे २ करोड भन्दा बढी खर्च लाग्ने समेत नगर प्रमुख खत्रीको भनाई छ ।

माथिल्लो क्षेत्रका स्थानीय तहहरुमा भने यस बारे पर्याप्त जानकारी समेत नदिईएकोले कार्यन्वयन गर्न नसकिएको स्थानीय तहका प्रमुखहरुको भनाई छ । एक स्थानीय तह एक औद्योगिक ग्राम भन्ने निति सुने पनि त्यस बारेमा स्पष्ट नहुँदा गएको आर्थिक बर्षमा काम हुन नसकेको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताउनुभयो । आफुहरुले पनि गहिरिएर खोजी गर्न नसकिएको स्वीकार्नु हुँदै उक्त योजना कार्यन्वयनको जिम्मेवारी पाएको घरेलु विकास समितिले पर्याप्त जानकारी नदिएको शेर्पाले गुनासो पोख्नुभयो । कोरोना भाईरसको संक्रमण बढेपछि मात्र डिपिआरको लागि बजेट आएको खबर सुनेकोले कार्यन्वयन गर्न नसकेको अध्यक्ष शेर्पाको भनाई छ ।

जिल्लाकै जेठो खाँदबारी नगरपालिकाले भने जग्गा ब्यवस्थापनको प्रयास गरे पनि कोरोना भाईरसको कारण जग्गा पास गर्न नसकेको खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो । खाँदबारी नगरपालिकाले वडा नम्बर ८ तुम्लिङटार जजिकै ४ जना दाताहरुबाट निशुल्क जग्गा प्राप्त हुने भए पनि राजिष्ट्रेसन पास गर्न नसकेको नगर प्रमुख खतिवडाले बताउनुभयो । चार मध्ये एक जना देश बाहिर रहेकोले लकडाउनको कारण आउन नसक्दा राजिष्ट्रेसन पास लिन नसकिएको खतिवडाको भनाई छ । उक्त दाता जिल्ला आउने वित्तिकै जग्गा पास गरेर प्रकृया अघि बढाउने तयारी गरिएको नगर प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार