चेक हस्तान्तरण गर्दै अध्यक्ष शेर्पाले भन्नुभयो, सिलिचोङको पिडामा हाम्रो साथ छ



खाँदबारी । चिचिला गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि सिलिचोङ गाउँपालिकाका पहिरो पिडितहरुको ब्यवस्थापनको लागि सहयोग रकम हस्तान्तरण गरेको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि एकमुष्ट एक लाख ४४ हजार २ सय ७५ रुपैयाँ सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङलाई हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाको विपद् ब्यवस्थापन कोषबाट एक लाख रुपैयाँ, कार्यपालिका सदस्यहरुबाट संकलित २४ हजार दुई सय रुपैयाँ र गाउँपालिकाका कर्मचारीहरुबाट संकलित २० हजार ७५ रुपैयाँ गरि उक्त रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले दुख ब्यक्त गर्नुभयो । सिलिचोङ गाउँपालिकाले कोरोना कहरपछि थप प्राकृतिक विपत्तिको सामना गर्नु परेको बताउनुहुँदै आफुहरुले पनि सान्त्वना स्वरुप सहयोग गरेको अध्यक्ष शेर्पाले भन्नुभयो ।
पहिरो गएलगत्तै घटना स्थलमा नै पुगेर राहत वितरण गर्ने कार्यपालिकाको योजना भएपनि मौसमको पैतिकुलताको कारण आउन नसकेको समेत अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । पटक पटक विपदको सामना गर्दै आएको सिलिचोङको पिडाको महसुस भएको बताउनुहुँदै विपदको सामनाका लागि सहयोग गर्न सिङ्गो गाउँपालिका तयार रहेको समेत अध्यक्ष शेर्पाले प्रतिवद्धता जनाउनुभयो ।
चिचिला गाउँपालिका र पालिका परिवारले गरेको सहयोग प्रति आभार ब्यक्त गर्दै सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले धन्यवाद ब्यक्त गर्नुभयो । चिचिला गाउँपालिकाले विगतका समयमा पनि सहयोग गर्दै आएको बताउनुहुँदै यस पटकको सहयोगबाट पनि सिङ्गो गाउँपालिका परिवार आभारी रहेको बताउनुभयो । चिचिला र सिलिचोङको आपसि सम्बन्ध प्रगाढ रहेको बताउनुहुँदै आफुहरुले पनि सक्ने सहयोग भावि दिनमा गर्ने समेत अध्यक्ष कुलुङले प्रतिवद्धता ब्यक्त गर्नुभयो । दाताहरुबाट प्राप्त भएको रकम पहिरो विस्थापितहरुको ब्यवस्थापनमा लगानी गर्ने समेत अध्यक्ष कुलुङ जानकारी दिनुभयो । अहिले विस्थापितहरुको पुर्नस्थापनाको लागि जग्गाको खोजी भईरहेको र जग्गा प्राप्ती पश्चात आवास निर्माण गर्ने योजना रहेको अध्यक्ष कुलुङले जानकारी दिनुभएको थियो ।

सम्बन्धित समाचार