बाजी हारेपछि बन्धक बनाएर कुटपिट



विराटनगर । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको सट्टेबाजीका कारण विरटानगरमा एक व्यक्ति कुटिएका छन् । विराटनगर– ११ पिचरा बस्दै आएका रोनल कँडेलसहितको समूहले विराटनगरकै सञ्जय सिंघलमाथि कुटपिट गरेको हो ।

सिंघलले भने आफूलाई बिहीबार अपहरण गरी बन्धक बनाएको आरोप लगाएका छन् । फेसबुकमार्फत उनले आफूमाथि अपहरण गरी कुटपिट भएको बताएका हुन् । सिंघलको फेसबुक स्टाटासको आधारमा प्रहरीले रोनललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले आइतबार कँडेललाई नियन्त्रणमा लिएको थियो । तर स्वास्थ्यमा समस्या आएको बताएपछि प्रहरीले सोही दिन बेलुका हाजिर जमानीमा छाडेको थियो ।
प्रहरीका अनुसार शुक्रबार बिहान सञ्जयले आफ्नो साथबाट रोनलले जबरजस्ती ८ लाखको चेक लगेको आरोप लगाएका छन् । बिहीबार आफूलाई बन्धक बनाएर श्रीकृष्ण पार्टी प्यालेसमा राखेर राति कुटपिट गरेको र शुक्रबार बिहान पनि कुटपिट गरेको उनले बताएका छन् ।

सट्टेबाज गरेको पाइएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । स्वास्थ्य अवस्था खराब भएपछि उपचारका लागि जान दिइएको बताए ।

प्रहरी स्रोतका अनुसार इन्डियन प्रिमियर लिग आइपिएलमा सट्टेबाजी लगाउँदा हारेको रकम उठाउनका लागि सञ्जयमाथि कुटपिट गरेका हुन् । ‘दुवै जनाले सट्टेबाजी खेलेका रहेछन्, हारेपछि घटना भएको देखिन्छ,’ प्रहरी स्रोत भन्छ, ‘जितेको भए कतै जान्थे होला, हारेको पैसा उठाउन घटना गराएको देखिन्छ ।’ अनुसन्धान जारी भएका कारण थप विषय खुल्ने प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले शंकास्पदलाई सोधपुछ गरेको बताउँदै अनुसन्धान जारी रहेको बताए ।

आइतबार बेलुका प्रहरीले रोनललाई नियन्त्रणमा लिएको थियो । नेपाली कांग्रेस निटक तरुण दलको मोरङ क्षेत्र नम्बर ६ को अघोषित उपसभापति रोनललाई नियन्त्रणमा लिएको केही समयपछि स्वास्थ्यमा समस्या आएको बताएपछि प्रहरीले हाजिरी जमानीमा छाडेका थिए । प्रहरीले गत साता आईपीएलको सट्टेबाजी गर्ने तीन जनालाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार