बीपीको कोभिड अस्पतालमा अख्तियारको छानविन



धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा भएका खरिद बारे छानबिन सुरु गरेको छ ।

प्रतिष्ठानस्थित कोभिड अस्पतालमा खरिद गरिएका १० भेण्टिलेटर मध्ये ६ वटा बिग्रिएर बिरामीले उपचार नपाएको, आर्थिक अनियमितता भएको, उपचार सेवा प्रभावकारी नभएको र लापरबाही भएको सार्वजनिक भएपछि अख्तियार टोलीले अस्पतालको स्थलगत निरीक्षण समेत गरेको छ ।

सोमबार राती अख्तियार टोलिले कोभिड अस्पतालको स्थलगत छानविन गरेको प्रतिष्ठान स्रोतले जनाएको छ । प्रतिष्ठानका उपकुलपती डा.ज्ञानेन्द्र गिरीले कमसल औषधि उपकरण खरिद गरि आर्थिक अनियमितता गरेको उजुरी परेपछि अख्तियारको टोलीले छानबिन थालेको हो ।

अख्तियारले स्थलगत निरीक्षण गरि शंकास्पद खरिद प्रकृयाका सबै विवरण माग गरिएको अख्तियार स्रोतले जनाएको छ । उपकुलपति गिरीले प्रतिष्ठानकै खरिद प्रक्रियामा विशेष अदालतमा मुद्धा चलिरहेका विवादित व्यापारी चेतन अग्रवालसँग उपकरण खरिद गरेका थिए ।

अस्पतालमा आवश्यक औषधि उपकरण खरिद गर्दा प्रतिष्ठानका रजिष्ट्रार र निर्देशकको सिरफारिसका आधारमा उपकुलपतीले टेन्डर प्रक्रिया मार्फत खरिद गर्नुपर्ने प्रावधान छ । तर उपकुलपति गिरीले प्रक्रिया बिनै विवादित व्यापारीसँग खरिद गरेका थिए । उपकुलपती गिरीले प्रतिष्ठानका रजिष्ट्रार मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहको समेत अधिकार खोसेका छन् ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीलाई खरिद बारे सोध्दा उनले उपकुलपतिसँग बुझ्न आग्रह गरे । तर उपकुलपति गिरी कसैको फोन उठाउँदैनन् । रजिष्ट्रार रेग्मीलाई आर्थिक अधिकार उपकुलपतिले खोसेको विषयमा सोध्दा उनले आन्तरिक कुरा भन्दै बोल्न चाहेनन् ।

ब्लाष्ट खबरबाट साभार गरिएको ।

सम्बन्धित समाचार