दश मिनेटमै कोराना रिपोर्ट आउने किट प्रयोग गर्न सरकारले दियो अनुमति



धरान । पीसीआरभन्दा छिटो नतिजा दिने एन्टिजेन किटलाई सरकारले कोरोना परीक्षणका लागि अनुमति प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्नका लागि अनुमति दिने निर्णय भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ राष्ट्रिय टेस्टिङ गाइडलाइनलाई चौथो पटक संशोधन गरी अनुमति प्रदान गरिएको हो । पीसीआरमार्फत कोरोना परीक्षण गर्दा कम्तीमा रिपोर्ट आउन ८ घण्टा लाग्छ भने एन्टिजेनमार्फत १० मिनेटमा रिपोर्ट आउँछ । तर, एन्टिजेनको एक्युरेसी दर भने पीसीआर जति भरपर्दो नभएको दाबी गरिन्छ ।

एन्टिजेन विशेष गरेर भीडभाड हुने आकस्मिक कक्ष तथा सल्यक्रिया गर्नुपर्ने बिरामीहरूका लागि बढी प्रभावकारी मानिन्छ । एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा मात्रै १ हजार रुपैयाँ शुल्क तोकेको छ । यो शुल्क भने समयानुकूल परिवर्तन हुने बताइएको छ ।

विश्वका केही देशमा एन्टिजेनलाई अनुमति दिइएको छ । अमेरिकालगायतले पनि एन्टिजेनमार्फत नै परीक्षण गर्ने गरेका छन् ।

सम्बन्धित समाचार