बेलबारीका युवाले गरे धानबारीमा बलात्कार, घटना गाउँमै मिलापत्र



बेलबारी । मोरङको धनपालथान गाउँपालिकामा बलात्कारको घटना गाउँमै मिलापत्र भएको खुलेको छ । धनपालथान गाउँपालिका–५ मा पाँच लाख क्षतिपूर्ति दिने सर्तमा बलात्कारको घटना गाउँमै मिलापत्र भएको हो । पाँच लाख क्षतिपूर्ति दिने सर्तमा मिलापत्र गरिएको कागजमा दुईजना जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

घटना गत २४ भदौ बेलुकाको हो । धनपालथान गाउँपालिका–५ नहर छेउ धानबालीमा युरिया मल छर्नका लागि पुगेका बेलबारी नगरपालिका–८ का ३३ वर्षीय सुरेश खवासले २१ वर्षीय युवतीलाई साथीको रुपमा लिएर गएर करणी गरेको आफन्तको आरोप छ । धानबालीबाट स्थानीयले आपत्तिजनक अवस्थामा भेटेपछि खवासलाई नियन्त्रणमा लिएका थिए ।

घटनापछि भोलिपल्ट बिहान किशोरी र उनको परिवार उजुरीका लागि प्रहरी कार्यालय जाने तयारीमा थियो । तर गाउँको घटना गाउँमै मिलाउने भन्दै समाज बस्यो । केटा पक्ष र किशोरीका छिमेकीहरु भेला भए । भेलाले किशोरीको मूल्य पाँच लाख तोकिदियो । खवासको परिवारले पाँच लाख दिनुपर्ने लिखित कागज भयो । कागजमा ९ असोजभित्र पाँच लाख क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।

मिलापत्रमा धनपालथान गाउँपालिका–५ की वडा सदस्य नेपालदेवी खवास र बेलबारी नगरपालिका–८ का वडा सदस्य प्रविणकुमार खवाससहित पीडकका आफन्त र अन्य छिमेकीले हस्ताक्षर गरेका छन् । पीडित भनिएकी युवतीका मामा नयन्द्रनारायणले ललाईफकाई खेतमा लगेर करणी गरेको जानकारी पाएपछि भोलिपल्ट बिहान २५ भदौ मा प्रहरीमा उजुरी गर्ने तयारी गर्दा समाजले रोकेको बताए । त्यसपछि बसेको समाजले गरेको निर्णय मानेको उनले बताए । त्यसपछि गाउँमै मिलापत्र गराउने भन्दै पञ्चायती बस्यो । पञ्चायतीमा केटा पक्षबाट ५–७ जना आएका थिए । पीडित युवती बस्ने घर पीडककै आफन्तको भएका कारण पैसा दिएर मिलाउने पक्षमा सबै लागि परे । पीडक परिवार आर्थिकरुपमा सम्पन्न छ । पीडित युवती पनि वडा सदस्य नेपालदेवी खवासको घरमा बस्दै आएकी थिइन् ।

एक स्थानीयका अनुसार पञ्चायती छलफलमा दुईजनाको विवाह गराइदिने विषय उठ्यो । तर सुरेश विवाहित भएका कारण पीडक पक्ष मानेनन् । युवतीको विवाहका लागि बिहे खर्च र क्षतिपूर्ति भन्दै पाँच लाख दिने सहमति भयो । २५ गते बसेको पञ्चले ९ असोजभित्र पैसा दिने उल्लेखसहित मिलापत्र ग¥यो । तर समाजले कबोल गरेअनुसार पीडित परिवारले क्षतिपूर्ति पाएन । २५ भदौमा बैठक राख्न भूमिका खेलेकी वडा सदस्य नेपालदेवी खवासको घरमा फेरि छलफल भयो । छलफलमा पीडक पक्षलाई बोलाइयो । तर छलफलमा आएनन् ।

पीडक पक्ष छलफलमा नआएपछि गोप्य राख्ने भनिएको घटना बाहिर आयो । एक महिनापछि बलात्कारको घटनामा मिलापत्र भएको जानकारी पाएको प्रहरीले पीडित युवतीलाई बोलाएर आइतबार सोधपुछ गर्‍यो ।इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको बयान दिएपछि जाहेरी दर्ता गर्न लगाएर अनुसन्धान सुरु गरिएको बताए ।

धनपालथान गाउँपालिका–५ की वडा सदस्य नेपालदेवी खवासले छलफलमा आफू पनि बसेको बताइन् । पीडित युवती आफ्नो घरमा बस्ने गरेको बताउँदै उनले समाजले नै पाँच लाख दिने निर्णय सुनाएको बताइन् ।

पीडक भनिएका सुरेश खवास वडा सदस्य नेपालीदेवीको बुहारीका भाइ हुन् । बलात्कार जस्तो जघन्य अपराधलाई गाउँमै ढाकछोप गर्न खोजेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सबैलाई कानुनी दायरमा ल्याउने बताए ।

पुर्वेली न्युज डटकमबाट साभार

सम्बन्धित समाचार