सँगै बसेर लागूऔषध सेवन, विवादपछि बन्चरो प्रहार गरी आफ्नै साथीको हत्या



विराटनगर । झापाको कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै साथीलाई पक्राउ गरेको छ । शव भेटिएको करिब ८ घण्टापछि चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका– ७ का २२ वर्षीय टल्के भनिने रविन राजवंशीलाई पक्राउ गरेको हो ।

बुधबार बिहान बाँसघारीमा चौधरीको शव फेला परेको थियो । प्रहरीले अनुसन्धानका क्रमममा राजवंशीको संलग्नता खुलेपछि पक्राउ गरेको हो । प्रहरीले घटनाको अनुसन्धानका लागि संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट कुकुर पनि मगाएको थियो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृतक चौधरी र राजवंशी साथीसाथी हुन् । दुबैजना लागूऔषध प्रयोगकर्ता हुन । सँगै बसेर लागूऔषध सेवन गर्ने क्रममा उनीहरुबीच विवाद भएको थियो ।

मंगलबार राति चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजवंशीले पछाडिबाट बन्चरो प्रहार गरेका थिए । हत्या पछि शवलाई बाँसघारीमा राखेर उनी फरार भएका थिए । घटना भएको करिब ८ घण्टा पछि पक्राउ परेका राजवंशीले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार