सुनसरीमा हालसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु



 

इटहरी । सुनसरीमा कोरोना संक्रमणका कारण हालसम्म ३५ जनाले ज्यान गुमाएका छन् । धरान र इटहरीमा संक्रमण तिव्र भएसँगै जिल्लामा मृतकको संख्या ३५ जना पुगेको हो । सुनसरीका मृतकमध्ये १० जना इटहरीका बासिन्दा हुन् ।

यसैगरी, मोरङमा संक्रमणका कारण ५० जनाले ज्यान गुमाएका छन् । मोरङका मृतकमध्ये ३० जना विराटनगरका बासिन्दा हुन् । यसैगरी, झापामा संक्रमणका कारण १० जनाले ज्यान गुमाएका छन् । धनकुटा, उदयपुर र ताप्लेजुङका एक एक जना संक्रमितको मृत्यु भएको छ ।

मृतकमध्ये प्रदेश १ बाहिरका १५ जना संक्रमित रहेका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा सबैभन्दा बढी संक्रमित मोरङ जिल्लामा छन् । प्रदेश १ मा ११ हजार १७० जना कोरोना संक्रमित छन् । संक्रमितमध्ये चार हजार आठ सय ७४ जना संक्रमणमुक्त भएका छन् । ६ हजार एक सय ८७ सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार मोरङमा पाँच हजार चार सय ६०, सुनसरीमा तीन हजार ६ सय २९, झापामा एक हजार एक सय १४ जना कोरोना संक्रमित छन् । उदयपुरमा १८६, इलाममा ११२ जना कोरोना संक्रमित छन् । अन्य पहाडी जिल्लामा दोहोरो अंकमा संक्रमित छन् । ताप्लेजुङमा २५ पाँचथरमा ३५, धनकुटामा ७०, तेह्रथुममा ३८, संखुवासभामा ९९, खोटाङमा ४२, भोजपुरमा ४१, सोलुखुम्बुमा १०, ओखलढुंगामा ३४ जना कोरोना संक्रमित छन् । संक्रमितमध्ये २७५ जना प्रदेश १ बाहिरका छन् ।

सम्बन्धित समाचार