मृत्तककी छोरी भन्छिन्ः ऋण खोज्दा पाइएन, पैसा नतिरेसम्म अस्पतालले शव दिन्न भनेको छ



 

विराटनगर । विराट मेडिकल कलेजले कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव तीन दिनसम्म आफन्तलाई दिएको छैन । शनिबार बिहान उपचारका क्रममा मृत्यु भएका विराटनगर–३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव अस्पतालले आफन्तलाई नदिएको हो ।

उपचारको क्रममा उठेको बिल अनुसारको रकम तिर्न नसक्दा अस्पतालले शव नदिएको आफन्तले बताएका छन् । एक बोर्डिङ स्कुलमा सवारी चालकको रुपमा कार्यरत ती पुरुषलाई ६ कात्तिकमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । शनिबार बिहान करिब ८ बजे उनको मृत्यु भएको थियो ।

‘भएको पैसा सबै सकियो, अब पैसा छैन,’ मृतककी छोरीले भनिन् ‘ऋण खोज्दा पाइएन, पैसा नतिरेसम्म अस्पतालले शव दिन्न भनेको छ ।’ उनका अनुसार अस्पताल भर्ना गर्दा अस्पतालमा एक लाख रुपैयाँ डिपोजिट गरिएको थियो । घरमा भएको पैसा औषधि खरिदमा सकिएको उनले बताइन् । ‘शनिबार विहान मृत्यु भएपनि आजसम्म शव ल्याउन पाइएको छैन,’ उनले भनिन्, ‘धेरै ठाउँ पहल गरियो तर शव निकाल्न सकिएन ।’

अस्पतालले उपचारमा लागेको खर्चमा केही छुट दिएको छ । अस्पतालले ३ लाख ८४ हजार ९३५ रुपैयाँ बाँकी रहेको र त्यो नबुझाएसम्म शव नदिने बताएको उनले गुनासो गरिन् ।

सरकारले हात उठाएपछि समस्या

सरकारले कोरोना संक्रमितको उपचार गर्नबाट हात उठाएपछि तामाङ थरका पुरुषको मृत्यु भएको तीन दिनसम्म शव नउठेको हो ।

तामाङको अवस्था गम्भिर बनेपछि भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालको प्रशासन प्रमुख सुधिरसिंह राठोरले जानकारी दिए । मृतकका आफन्तले उपचारमा उठेको बिल नतिरेका कारण शव अस्पतालमै रहेको उनले बताए ।

‘सरकारले हात उठाइहाल्यो, उपचारमा खटिने स्वास्थ्यकर्मीलाई पारिश्रमिक दिनुपर्छ,’ उनले भने, ‘हामीले सकेजति छुट दिएका छौं ।’

संक्रमितको उपचारमा कुनै कसर बाँकी नराखेको बताउँदै उनले उपचारमा लागेको शुल्क तिर्नुपर्ने बताए ।

यसअघि ७ कात्तिकमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनरक्षा गर्नु सरकारको सबैभन्दा पहिलो काम भएको भन्दै कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताएका थिए ।

कतिपयले निजी अस्पतालमा आफ्नै खर्चमा कोरोनाको उपचार गरेर सरकारलाई सहयोग गरेको भन्दै ओलीले उपचार गर्न सक्दिनँ भनेर स्वघोषणा गरे सरकारले निःशुल्क उपचार गरिदिनेसमेत बताएका थिए ।

सम्बन्धित समाचार