धरानमा २२ वर्षीय महिला बलात्कृत, देवर नाता पर्ने एक जना पक्राउ



धरान l धरानमा २२ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

महिलाका श्रीमान् घरबाहिर मजदुरीमा गएको मौका छोपेर नाताले देवर पर्ने दुई जनाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर राजन ओलीले जानकारी दिए ।

डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडित महिलाले देवर नाता पर्ने धरानका २२ र २३ वर्षीय युवाहरू विरुद्ध आइतबार किटान जाहेरी दिएकी थिइन ।

आरोपित मध्ये २२ वर्षीय युवालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ परेका युवा पीडित महिलाको काका ससुराका छोरा हुन् । २३ वर्षीय अर्का युवा भने फरार भएका छन् ।

बलात्कार घटना सार्वजनिक भएपछि परिवारमै मिलाउने प्रयास समेत भएको थियो । उनीहरूले ती महिलालाई हत्या गर्ने सम्मको धम्की दिएको प्रहरीको भनाई छ ।

पीडित महिला एक छोरा र एक छोरीकी आमा हुन । देवरहरू पनि भाउजू सँगै बस्दै आएका थिए । उनका श्रीमान् मानसिक रोगी रहेको ओलीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको ओलीले बताए ।

सम्बन्धित समाचार