संखुवासभाका झण्डै दुई हजार घरधुरीको फुसको छानो हट्ने



खाँदबारी । संखुवासभाका १ हजार ९ सय ८० घरधुरीको फुसको छानो हट्ने भएको छ । सहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम अन्र्तगत जिल्लाको १० स्थानिय तहका नागरिकको घरको फुसको छानो भएकाहरुलाई जस्तापाता लगाउन सरकाले अनुदान उपलब्ध गराउने भएको हो ।

यस कार्यक्रमले घरमा फुसको छानो मुनि बस्न बाध्य रहेका गरिब तथा विपन्न समुदायको अवस्थाको अब अन्त्य हुने सुरक्षित नागरिक आवास समन्वय समितिका संयोजक प्रतिनिधि सभा सदस्य राजेन्द्र गौतमले अरुण सन्देशलाई बताए । फुसको छानो भएकै कारण हरेक वर्ष आगलागीको विपत्ती निम्तिने गरेको स्मरण गराउँदै सरकारले फुसको छानो विस्तापित गरी जस्तापाता लगाउन यस्तो अनुदान कार्यक्रम ल्याइएको गौतमको भनाई छ । घरमा फुसको छानो भएका सबैलाई फर्म भर्न र कसैलाई पनि नछुटाउ गौतमले भनेका छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका अनुसार १ हजार ९ सय ८० घर धुरीले जस्तापाताको थानो लगाउन पाउने छन् । खाँदबारी नगरपालिकाका ३४०, चैनपुरका ३६०, धर्मदेविका १८६, पाँचखपनका २४३ र मादीका १६५ घरधुरीले जस्तापाताका लागि रकम पाउने छन् । त्यसैगरी चिचिला गाउँपालिकाका १२९, भोटखोलाका ६१, मकालुका १४४, सभापोखरीका १६३ र सिलिचोङका १७९ घरधुरीले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम अन्र्तगत अनुदान पाउने आयोजनाले जनाएको छ । सुरक्षित आवास निर्माण वापत ५० हजार रूपैयाँ उपलब्ध गराइने छ । सेवाग्राहीलाई पहिलो किस्ता स्वरुप ३० हजार रुपैयाँ उपलब्ध गराइने छ । घर निर्माणका लागि जस्तापाता खरिद गरेको बील भरपाई पेश गरिसकेपछि बाँकी रकम ५ प्रतिशत ब्यवस्थापन खर्च कटाएर उपलब्ध गराउने कार्यबिधीमा उल्लेख छ ।

कार्यविधिले तोके बमोजिमका सम्भावित लाभग्राहीहरु प्रत्येक वडा स्तरबाट लाभग्राहीको तथ्याङ्क संकलन भइरहेको सुरक्षित नागरिक आवास समन्वय समितिका सदस्य जिल्ला समन्वय समिति अध्यक्ष सुमन शाक्यले अरुण सन्देशलाइ जानकारी दिए । वडा स्तरबाट आएका तथ्याङ्कका आधारमा समितिले लाभग्राहीहरु छनौट गर्ने समन्वय समिति अध्यक्ष शाक्ले बताए । वडामा रहेका सबै फुसका छाना भएका घरधुरीको तथ्याङ्क पठाउन प्रमुख शाक्यले आग्रह गरे । मन्त्रालयले करिब १ अर्ब बराबरको बजेटबाट देशभर २० हजार घरधुरीलाई सुरक्षित आवासका लागि बजेट वितरण गर्न लागिरहेको छ । उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउन सम्बन्धित स्थानीय तहमा मन्त्रालयले फाराम पठाइएको छ ।

मन्त्रालयले दिएको जिम्मेवारी पुरा गर्न आफुहरु कटिवद्ध रहेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका आयोजना प्रमुख एकराज अधिकारीले बताए । अघिकारीले भने–‘सेवाग्राहीलाई पहिलो किस्तामा हामीले ३० हजार दिन्छौं, बाँकी रकम जस्ता पाता खरिद गरेको बील भरपाई पेश गरेपछि उपलब्ध गराउँछौंं । रकम दुरुपयोग गर्न अनुरोध गदै उनले भने ‘रकम दुरुपयोग भएमा नेपाल सरकारको कानुन अनुसार कारबाही हुन्छ ।

नोटः अरुण सन्देश डटकमको सहयोगमा तयार गरिएको समाचार ।

सम्बन्धित समाचार