अस्पतालले उपचार गर्न नमानेपछि कोरोना संक्रमित महिलाले गरिन् आत्महत्या



विराटनगर । अस्पतालले उपचार गर्न अस्वीकार गर्दा मोरङको रतुवामाई नगरपालिका(१० की कोरोना भाइरस संक्रमित एक महिलाले आत्महत्या गरेकी छिन् । मिर्गौलाको पुरानै समस्या रहेकी ४० वर्षीया महिलाले आत्महत्या गरेकी हुन् । स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि कात्तिक ८ गते विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

गत असारबाट नियमित डायलासिस गराउँदै आएकी बिरामी थिइन् । अस्पताल भर्ना गरेर पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आयो। परिवारका अनुसार रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा राखेर उपचार गराउन पैसा लाग्ने अस्पतालले बतायो ।

पैसा तिर्न नसक्दा अस्पतालले उपचार गर्न नमानेपछि उनलाई कात्तिक ९ गते घर लगिएको परिवारले जनाएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर रहेकी महिलाले भोलिपल्ट अर्थात कात्तिक १० गते झुन्डिएर आत्महत्या गरेको वडाध्यक्ष टंक ढकालले जानकारी दिए। घटना भएको दिन दसैंको टीका थियो ।

उनका अनुसार विराटनगरमा अस्पतालले उपचार गर्न नमानेपछि घर ल्याइएकी महिलाले घर नजिकैको गोठमा पासो लगाएर आत्महत्या गरेकी हुन् । सबैतिर दसैंको टीकाको रमझम हुँदा गाउँमा भने संक्रमित महिलाले आत्यमहत्या गरेको खवर सुन्नु परेको उनको भनाइ छ ।

सम्बन्धित समाचार