कोरोना संक्रमणबाट पूर्व सभामुख महराका धर्मपत्नी सीता महराको निधन



काठमाडौं । पूर्व सभामुख तथा प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महाराकी धर्मपत्नी कोरोना भाईरस संक्रमित सीता महराको बुधबार विहान निधन भएको छ । उहाँ शुक्रबारदेखि थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो ।

पूर्व सभामुख महराका पूर्व प्रेस सल्लाहकार त्रिभुवन पौडेलका अनुसार महराको विहान ६ः३० बजे उपचारकै क्रममा हस्पिटलमा निधन भएको हो । पौडेलका अनुसार गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएकाबेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ पनि देखिएको पौडेलले जानकारी दिनुभयो । शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान निधन भएको अस्पतालले पुष्टि गरेको पौडेलले जानकारी दिनुभयो । महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो ।

वि।सं। २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिनुभएको उहाँको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उहाँका दुई छोरा र दुई छोरी छन् । उहाँको शब अहिले हस्पिटलमै रहेको पौडेलले बताउनुभयो ।

सम्बन्धित समाचार