महाकुलुङ विमानस्थलको लागि आगामी बर्ष बजेट छुट्छः मन्त्री भट्टराई



सोलुखुम्बु । महाकुलुङ विमानस्थलको डिपिआरको काम छिट्टै हुने भएको छ । शुक्रबार बिमानस्थलको निरिक्षण गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले वातावरणीय प्रभाव मुल्यांकनको काम सम्पन्न भएको विमानस्थलको डिपिआर छिट्टै बन्ने बताए ।

शुक्रबार विहान काँगेल विमानस्थलको स्थलगत निरीक्षणपछि हेलिकोप्टरमा महाकुलुङ गाउँपालिकाको गुदेल पुगेका मन्त्री भट्टराईले आगामी आर्थिक बर्षको बजेटमा बिमानस्थलका लागि बजेट छुट्याउने बताए । महाकुलुङ विमानस्थल पर्यटकीय बिमानस्थल बन्न सक्ने भन्दै मन्त्री भट्टराईले लुक्ला बिमानस्थलको बिकल्पको रुपमा समेत महाकुलुङ विमानस्थल प्रयोगमा आउन सक्ने बताए । सरकार पर्यटन विकासमा क्रियाशिल रहेको र छिट्टै पर्यटन गतिविधीमा व्यापकता आउने भन्दै उनले महाकुलुङमा साँस्कृतिक तथा पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।

महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले विमानस्थलको निर्माण प्रक्रिया छिटो अघि बढाउन मन्त्री भट्टराईलाई आग्रह गरे । उनले महाकुलुङ बिमानस्थल महाकुलुङबासीका लागि मात्रै नभएर छिमेकी जिल्लाबासीहरुका लागि समेत महत्वपूर्ण रहेको बताए ।

स्थलगत निरिक्षणका क्रममा महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किरातीले पर्यटन मन्त्री भट्टराईसमक्ष त्यस क्षेत्रको पर्यटकीय विकासका लागि बजेट बिनियोजन गर्न माग पत्रसमेत बुझाएकाछन् । सोलुखुम्बुकै काँगेल विमानस्थलको निरिक्षण गरी महाकुलुङ बिमानस्थल पुगेका मन्त्री भट्टराई महाकुलुङवाट ताप्लेजुङ गएकाछन् ।

सम्बन्धित समाचार