प्रधानमन्त्री ओलीको सङ्खुवासभा भ्रमणः यस्तो छ अवलोकन गर्ने क्षेत्रको अवस्था



खाँदबारी । बुधबार प्रधानमन्त्री ओलीले मुख्य गरि सङ्खुवासभाको ३ स्थानको स्थलगत अवलोकन गर्नु हुने कार्यक्रम छ । किमाथाङ्कामा हालै निर्माण बोर्डर आउट पोष्ट (बिओपी), निर्माणधिन उत्तर दक्षिण कोशी राजमार्ग र निर्माणधिन अरुण तेश्रो परियोजनाको स्थलगत अवलोकन गर्नुहुने कार्य तालिका रहेको छ ।

सबैभन्दा बढी चासोका साथ हेरिएको अरुण तेश्रो परियोजनाको शिलान्यास २०७५ बैशाख २८ गते भारतीय समकक्षी नरेन्द्र मोदिसँगै एक साथ गर्नुभएको थियो । काठ्माण्डौमा स्वीच थिचेर सिलान्यास गर्नुभएको अरुण तेश्रो आयोजना झण्डै अढाई बर्षपछि स्थलगत अनुगमन गर्न आउन लाग्नुभएको हो । २४ घण्टा नै लगातार काम भईरहेको अरुण तेश्रोको काम हाल ४० प्रतिशत भन्दा बढी काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।

अरुण तेश्रोको ड्याम साईड र पावर हाउस क्षेत्र गरि दुई खण्डमा काम भईरहेको छ । ड्याम साईडमा जय प्रकाश एसोसियटस्ले काम गरिरहेको छ भने पावर हाउस क्षेत्रमा पटेल ईन्जिनियरिङले काम गरिरहेको छ । हालै पानी डाईभर्सन गर्ने सुरुङको काम सम्पन्न भईसकेको सतलज जलविद्युत निगमका डिप्युटि जेनेरल मेनेजर रमेश चन्द्र सुलेरियाले जानकारी दिनुभयो । ११ दशमलव ७ किलोमिटरको डाईभर्सन सुरुङ सकिएसँगै उक्त टनेल कङ्क्रिड बनाउने काम भईरहेको उहाँले जानकारी दिनुभयो । यस पछि बाँधको काम सुरु हुने समेत उहाँले बताउनुभयो । अरुण तेश्रो सन २०२२ मा सम्पन्न हुने पिडिएमा उल्लेख गरिएको छ ।

त्रिदेशीय लिंक रोडको रुपमा रहेको उत्तर दक्षिण कोशी राजमार्गको ट्रयाक ओपनको काम अझै सकिएको छैन । भोटखोला गाउँपालिकाको च्याम्ताङदेखि घुङ्गापा विचको चट्टान निर्माण कम्पनीले फुटाउन नसकेपछि सडकको काम रोकिएको थियो । १४ किलोमिटर दुरी रहेको उक्त सडकको ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा दिईए पनि अझै काम थालेका छैन । उक्त सडकको ट्रयाक खोल्नको लागि नेपाली सेनाले डिपिआर तयार गरिसकेको र अहिले विष्फोटक पदार्थ राख्ने ठाउँ निर्माण भईरहेको छ । विष्फोटक पदार्थ भण्डार गर्ने भवन र ब्यारेक निर्माण भईसकेपछि मात्र सेनाले काम थाल्ने बताउने गरेको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त भवन र ब्यारेक स्थानीय ठेकेदारले निर्माण गरेर हस्तान्तरण गरेपछि काम सुरु हुने बताईएको छ । श्रेष्ठका अनुसार नेपाली सेनाका सडक निर्माण जनशक्ति धरानसम्म आईपुगेको र तिहार पछि काम सुरु हुने नेपाली सेना श्रोतलाई उदृद्ध गर्दै श्रेष्ठले बताउनुभयो ।

चिनसँगको सिमा क्षेत्र किमाथाङ्कामा १० महिना अघि बिओपीको स्थापना गरिएको थियो । सशस्त्र प्रहरी निरिक्षक चेतन बाह्रकोटीको नेतृत्वमा २६ जना जनशक्ति रहेको यस बिओपीले नेपाल चिन विचको सिमा रक्षा गर्दै आएका छन् । एक महिना अघि पर्यटन मन्त्री योगेश भट्टराईले बिओपी भवनको सिलान्यास गर्नुभएको थियो । ६ करोड ६८ लाख २६ हजार रुपैयाँ लागतमा बन्ने उक्त भवनको निर्माण सुरु भएको छैन ।

गोरखापत्र अनलाईनबाट साभार गरिएको ।

सम्बन्धित समाचार