लागुऔषध कारोबारीको केन्द्र बन्दै इटहरी




इटहरी । २०७७ असोज १२ मा हरीनगर गाउँपालिकाका जिवराइल अन्सारी इटहरीबाट पक्राउ परे । इलाका प्रहरी कार्यालयबाट खटिएको सुरक्षा टोलीले उनलाई ८० ट्याब्लेट लागुऔषध सहित पक्राउ गर्‍यो ।

गत मङ्सिर २३ गते इटहरी प्रहरीले नै १ भारतीय सहित ५ नेपाली युवालाई पक्राउ गर्‍यो । लागुऔषध कारोबार गरिरहेको अवस्थामा सुराकीको आधारमा उनीहरू पक्राउ परेका हुन् । यहीँ पौष १७ गते इटहरीको बुढी खोला नजिकै बाट एक युवा पक्राउ परे । सँगै आएका दुई जना मध्ये एक जना प्रहरीलाई देख्नासाथ भागेपछि खोजतलास गर्दा दुई केजी गाँजा फेला परेको थियो ।

यसै गरी इटहरीलाई केन्द्र बनाएर लागुऔषधको कारोबारीहरूको वृद्धि भइरहेको छ । इटहरीबाट धरान, विराटनगर र इनरुवा सम्मको बजार क्षेत्र ओगट्न सक्ने भएपछि कारोबारीहरूको उर्वर भूमिको रूपमा इटहरी देखिएको छ । भारतीय नाका नजिकैको सुरक्षित बजार भएको हिसाबले पनि इटहरी लागुऔषध कारोबारीको केन्द्र बनेको बताउँछन् इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताउँछन् ।

त्यसमा पनि लकडाउनको कारण बेरोजगार बनेपछि धेरै युवाहरूले लागुऔषध कारोबार थालेको उनको बुझाई छ । कोरोना महामारीको कारण गाउँ गाउँमा सचेतना अभियान चलाउन नसक्नु र बेरोजगारीको दर बढ्नुले यस्ता घटना बढेको उनले बताए ।

चारैतिरको बजार समेट्न सकिने भएकोले इटहरी सहज बजार भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार