विराटनगरमा पनि वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन महानगरपालिकाको अपिल



विराटनगर । औद्योगिक सहर विराटनगरमा वायु प्रदूषण उच्च भएपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ । विराटनगर महानगरपालिकाले सूचना जारी गरि प्रदूषण उच्च तहमा पुगेकाले ‘मर्निङवाक’ गर्नेलाई पनि घरबाहिर ननिस्कन अनुरोध गरेको हो ।

प्रदूषण कम गर्न फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न महानगरपालिकाले अनुरोध गरेको छ । सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मान्ने गरिएकोमा विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ ।

प्रदूषण उच्च रहेकोले विराटनगरमा खतराको संकेत देखिएको महानगरले जनाएको छ । बेलुकाको हावामा प्रदूषण झन् बढ्ने महानगरले जनाएको छ । विज्ञहरुका अनुसार वायु प्रदूषणले तत्काल असर नदेखिए पनि दिर्घकालीन रुपमा गम्भीर असर गर्नसक्ने बताएका छन् । चिसोका कारण वायु प्रदूषणको मात्रा बढेको बताइएको छ । चिसो बढेका कारण धूलो उडेर धेरै टाढा जान नसक्ने भएकोले हावाको तल्लो तहमा रहेका धुवाँ धूलोेले मानव स्वास्थ्यलाई हानी गर्नेछ । औद्योगिक क्षेत्रबाट निस्कने प्रदूषण र सवारी चाप पनि उच्च रहेकोले विराटनगरको हावामा प्रदूषण बढेको हो ।

प्रदूषित हावामा लिड, मर्करी, क्याडनियमजस्ता धातुको मात्रा बढी पाइने भएकोले श्वासप्रश्वासको माध्यमबाट ती शरीरमा पुगेर स–साना कोषहरु बन्द गर्न सक्ने विज्ञहरु बताउँछन् । प्रदूषित हावाका कारण श्वासप्रश्वासको समस्यासँग सँगै अन्य गम्भिर रोग देखिनसक्ने चिकित्सकको भनाई छ ।

विराटनगर महानगरपालिकामा सडक विस्तारको क्रममा धेरै रुख काटिएकोले पनि वातावरण सन्तुलन हुन नसकेको हो । काठमाडौंमा जोखिम बढेको सूचनासँगै विराटनगरमा गत साउनयता नियमित रुपमा हावाको गुणस्तर मापन गर्न थालिएको छ । प्रदूषणको मापनका लागि महेन्द्र मोरङ क्याम्पसमा उपकरण जडान गरिएको छ ।

सम्बन्धित समाचार