पुर्व राज्यमन्त्ती गुरुङ र चिचिला अध्यक्ष शेर्पाले गरे कालिकादेवी महिला समुहको भवन उद्घाटन




खाँदबारी । चिचिला गाउँपालिका ५ बाक्सिदामा निर्मित कालिकादेवी महिला आमा समुहको सामुदायिक भवन पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले उद्घाटन गरेका छन् । चिचिला गाउँपालिकाको आर्थिक अनुदानमा निर्माण गरिएको सामुदायिक भवनको मुल ढोकामा रिबन काटेर उद्घाटन गरिएको हो ।

गएको आर्थिक बर्षमा सौचालय सहित उक्त भवन निर्माणका लागि चिचिला गाउँपालिकाले १७ लाख रुपैयाँ विनियोजन गरेको थियो । गाउँपालिकाबाट प्राप्त बजेटले भवन पुर्ण रुपमा निर्माण सम्पन्न नहुने भएपछि स्थानीयले करिव ८ लाख रुपैयाँ नगद संकलन गरेको चिचिला गाउँ कार्यपालिका सदस्य तथा स्थानीय उपभोक्ता राजेन्द्र घलेले जानकारी दिनुभयो । यस बाहेक निर्माण कम्पनीहरु बिमला कन्ट्रक्सन प्राली र हिम कर्णाली प्रालिले पनि निर्माण कार्यमा सहयोग गरेको घलेले जानकारी दिनुभयो ।

उक्त भवन निर्माणका लागि पुर्व स्वास्थ्य राज्यमन्त्री गुरुङकै टोलीले एक बर्ष अघि सिलान्यास गरेका थिए । कार्यक्रममा बाल्नुहुँदै पुर्व राज्यमन्त्री गुरुङले आफुले सोचे भन्दा पनि राम्रो भवन निर्माण भएको प्रतिकृया दिनुभयो । भवन निर्माणमा जुटेका बाक्सिदावासीहरुको प्रसंसा गर्नुहुँदै उक्त भवन एकताको प्रतिक रहेको गुरुङले बताउनुभयो । यसैविच चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले भवन निर्माणपछि फर्निचरको आवश्यकता महसुस भएको र उक्त आवश्यकताको माग भईआए आगामी दिनमा सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधीहरु, प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईको पनि उपस्थिती रहेको थियो । त्यस्तै, नेपाली कांग्रेस संखुवासभाका जिल्ला सहसचिव राजेन्द्र घले, क्षेत्रीय सचिव दिनेश गुरुङ, नेपाल तरुण दल संखुवासभा सभापति टकमान घले लगायतका नेताहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने चिचिला गाउँपालिका कार्यालय लगायत जनप्रतिनिधीहरु, संघसंस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार