छेस्काम घटनाका दोषीलाई तत्काल कारबाहि गर्न छेस्काम पुर्व विद्यार्थी तथा सरोकार मञ्चको माग



काठ्माण्डौ । सोलुखुम्बुको छेस्काम माध्यमिक विद्यालय तोडफोड र कुटपिट घटनाको छेस्काम पुर्व विद्यार्थी तथा सरोकार मञ्चले घटनाको विरोध गरेको छ । आज मञ्चले विज्ञप्ती जारी गर्दै घटनाका दोषीलाई तत्काल कारवाहिको माग गरेको छ ।

मञ्चका सचिव नलकधन कुलुङद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा अपराधिक मानसिकताबाट ग्रसित समुहबाट अराजक, अनैतिक र हिंसात्मक कार्य गरेकोले तत्काल कारवाहिको दायरामा ल्याउनु पर्ने माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कसैको उत्तेजना, आवेग, आग्रह तथा पुर्वाग्रहमा सार्वजनिक सम्पत्तिको बर्खिलाप हुने गरि भएको त्यस किसिमको अपराधिक कार्य प्रति मञ्च घोर भत्र्सना गर्दछ ।’ विद्यालयमा शान्ति, सुब्यवस्था, अमनचयनमा हार्दिकता कायम गर्दै अध्ययन अध्यापनलाई सहज बनाउन सबैमा अपिल समेत गरिएको छ ।

छेस्काम माविको विद्यालय ब्यवस्थापन समितिको निर्वाचनको क्रममा झडप भएको हो । शनिबार सम्पन्न व्यवस्थापन समितिको निर्वाचनबाट विजयी समूहलाई स्वागतको तयारी गर्दै गर्दा विद्यालय परिसरभित्रै झडप भएको थियो । निबर्तमान अध्यक्ष पनि विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा उम्मेद्धार बन्नुभएको थियो । उहाँ किशोर कुलुङसँग ३० मतले पराजित बनेको विद्यालय स्रोतले जनाएको छ । नतिजा सार्वजनिक भए लगत्तै दुबै समुह बिच झडप भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

झडपको क्रममा निबर्तमान अध्यक्ष बिद्याराज कुलुङ गम्भिर घाइते हुनुभएको छ । उहाँको टाउँकोमा ३४ टाचाँ लगाइएको छ भने थप उपचारका लागी काठमाडौ रेफर गरिएको छ । झडपमा वडा नम्बर ३ का वडा अध्यक्ष डेक बहादुर राई सहित अन्य ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी तथा प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । घाइते ४ जनाको अबस्था सामान्य रहेको छ ।

झडपमा विद्यालयको कार्यलय तथा भौतिक संरचनामा समेत क्षती पुगेको छ । सिसि क्यामराको स्क्रिन फुटेको छ भने रेकर्डरसँगै डेल कम्पनीका तीन थान ल्यापटप हराएको विद्यालय प्रशासनले जनाएको छ । यस्तै बिदालयको ढोका, टेवल र छानामा समेत क्षति पुगेको छ ।

सम्बन्धित समाचार