धरान उपमहानगरपालिकाको प्रेस सल्लाहकारमा पारस राई नियुक्त




धरान । धरान उपमहानगरपालिको प्रेस सल्लाहकारमा पत्रकार पारस राई नियुक्त भएका छन् । प्रेस सल्लाहकारमा नियुक्ति भएको पत्र आफूले आज नेपाली काँग्रेसको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पाएको पत्रकार राईले बताए ।

पत्रकार राईलाई पुुष २९ गतेको नगरप्रमुख स्तरीय निर्णयबाट माघ १ गतेदेखि लागु हुने गरी सल्लाहकारमा नियुक्ति गरिएको छ । उपमहानगरले नियुक्ति सम्बन्धी माघ ७ गतेको मितिमा पठाएको पत्र उनले आज पाएका हुन् । धरान उपमहानगरपालिकाको प्रेस सल्लाहकारमा नियुक्ति भएपछि राईले धरान उपमहानगरपालिकाको गतिविधिहरूलाई आफू आबद्ध र विभिन्न सञ्चारमाध्यमहरूमार्फत बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

साथै, व्यावसायिक पत्रकारिताको विकासको लागि पत्रकार र पत्रकार महासङ्घसँग उपमहानगरपालिकाको सहकार्यलाई अझ प्रगाढ बनाउने भूमिका रहने उनले बताए । ‘पत्रकारिताको आचारसंहिताको मर्यादामा रहेर पत्रकारहरूको हितमा, पत्रकार महासङ्घसँगको सहकार्यलाई अझ प्रगाढ बनाउन, आवश्यक नीतिहरू तर्जुमामा मेरो भूमिका रहनेछ,’उनले भने ।

पत्रकार राई हाल धरानबाट प्रसारण हुने विजयपुर एफएमको समाचार विभागको समाचार सम्पादककोरुपमा रहेका छन् भने यस भन्दा अघि कपुरी न्युज डटकममा पनि डेस्क सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् । उनी विगत ५ बर्षदेखि पत्रकारितामा छन् । पत्रकार राई हाल स्नातक तह दोस्रो वर्षमा महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत छन् ।

सम्बन्धित समाचार