विहिबार संखुवासभा आएका भट्टराईले भने ‘कांग्रेसले संयुक्त आन्दोलन गर्न मान्दैन’



खाँदबारी । जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसको अनिच्छाका कारण संयुक्त आन्दोलनमा जान नसकिएको बताएका छन् । उनले कांग्रेसको मूल नेतृत्वको अनिच्छा नै संयुक्त आन्दोलनको बाधक बनेको आरोप लगाए ।

संखुवासभाको खाँदबारीमा बिहीबार जनता समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले प्रतिनिधिसभा अहिले पनि जीवित रहेको दाबी गरेका छन् । उनले ओलीको असंवैधानिक कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको समेत आरोप लगाए । नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरुबीच साझा आन्दोलन हुन नसकेको उनको भनाइ छ ।

राज्यका सबै अंग नियन्त्रणमा लिएर दुई तिहाई मतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको पनि उनको भनाइ थियो । यस्ता शासक जतिसुकै बलिया ठानिए पनि छिट्टै पतन हुने र अरुलाई पनि सर्वनाश पार्ने बताए । उनले प्रतिगमन नटिक्ने भन्दै नागरिकको अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न चेतावनी दिए ।

भट्टराईले प्रतिनिधिसभा पुनस्स्थापनाबिना कुनै हालतमा निर्वाचन नहुने भएकाले ओलीले सत्ता लम्ब्याउन चुनावी तयारीको नाटक गरिरहेको आरोप लगाए । शुक्रबार हुने विरोध सभालाई सम्बोधन गर्न पत्नी हिसिला यमीसहित नेता भट्टराई संखुवासभाको खाँदबारी आएका हुन् ।

सम्बन्धित समाचार